पाल्पामा “मण्डली कप” शुरु, पुरुष र महिला भलिबल प्रतियोगिता समाबेश
पाल्पा ।
पाल्पाको पुर्वखोला गाउँपालिकामा प्रख्यात `मण्डली कप´ शुरु भएको छ । बुधबारदेखि पूर्वखोला–१ सिलुवास्थित मण्डली भलिबल मैदानमा आठौँ मण्डली कप सुरु भएको हो ।
प्रतियोगितामा पुरुष भलिबल र महिला भलिबल खेल आयोजना गरिएको छ । १ लाख ५० हजार रुपियाँ राशी पुरस्कार रहेको पुरुष भलिबल प्रतियोगितामा ६ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७० हजार रुपियाँसहित मेडल, प्रमाणपत्र पाउने क्लबका अध्यक्ष अन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

४ टिम सहभागी महिला भलिबल तर्फ पहिलो हुनेले ३० हजार रुपियाँ पुरस्कार पाउनेछ । खेलमा उत्कृष्ठ खेलाडी छनौट गरि नगदसहित सम्मान गरिने पनि उहाँले बताउनुभयो ।
बुधबार शुरु उद्घाटन खेलमा आयोजक मण्डली स्पोर्टस् क्लब र जिल्ला भलिबल सङ्घ प्रतिस्पर्धा गरेका थिए । खेल बराबरीमा टुङ्गिएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले खेल क्षेत्रको विकासका लागि क्लबले खेलेको भुमिका सह्रानीय रहेको बताउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले भलिबलबाट राष्ट्रहित र खेलाडीको विकासमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले गाउँपालिकाले खेल मैदान, खेल र खेलाडीको पक्षमा धेरै काम गरेको बताउनुभयो ।

प्रतियाेगिताका अबसरमा खेलसँगै सांस्कृतिक संरक्षणका लागि मौलिक परम्परामा आधारित सांस्कृतिक कार्यक्रम हुनेछ। सांस्कृतिक कार्यक्रममा कलाकार श्याम राना, रामेश्वर ढकाल, लालुमाया पुन, विनाेद अर्याल र ताेया विकलगायतकाे प्रस्तुति रहने क्लबका सचिव कृष्ण पङ्गेनीले जानकारी दिनुभयो ।
क्लबका उपाध्यक्ष युद्ध बहादुर बीरकट्टाकाे स्वागत, क्लबका अध्यक्ष अन्त प्रसाद श्रेष्ठकाे अध्यक्षता र सचिव कृष्ण पंगेनीकाे संचालनमा उद्घाटन कार्यक्रम चलेको हो । खेल कात्तिक २४ गतेसम्म संचालन हुनेछ ।