उपबिजेता बनेको महिला फुटबल टिमलाई काठमाडौं महानगरको २५ लाख
काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता नेपाली महिला फुटबल टोलीलाई २५ लाख रुपैयाँ दिएको छ ।
बुधबार नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएलगत्तै बुधबारै सोल्टी होटलमा महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले एन्फा अध्यक्ष पंकज नेम्बाङको रोहबरमा नेपाली महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई २५ लाखको चेक हस्तान्तरण गर्नुभयो ।
डिफेन्डिङ च्याम्पियन बंगलादेशले साफ वुमन्स च्याम्पियनसिपको सातौं संस्करणको बुधबार भएको फाइनलमा नेपाललाई ‘गृह मैदान’ दशरथ रंगशालामा २–१ ले पराजित गरेको हो । साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पुगेर पनि नेपाल पराजित भएको यो छैठौं पटक हो ।
काठमाडौं महानगरले बुधबार नेपाली टोलीको खेल उत्कृष्ट रहेको उल्लेख गर्दै भनेको छ, ‘खेल उत्कृष्ट थियो । हारजित खेलको प्राविधिक कुरा हो । हार्दिक बधाई खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई ।’ भनेको छ । काठमाडौं महानगरपालिकाले टुँडिखेल, सानो गौचरन र गणेशस्थान फुटबल ग्राउन्डमा एलईडी स्क्रिनबाट नेपाल र बंगलादेशबीचको फाइनल खेल देखाएको समेत थियो । महानगरको पुरस्कृतले खेकाडीमा हौसला थपेको छ ।