वुमेन्स साफ च्याम्पियनसिप बन्यो बङ्गलादेश
काठमाडौं ।
डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ । काठमाडौं स्थित दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि चुमेको हो ।
बंगलादेशले सन् २०२२ मा दशरथ रंगशालामा भएको खेलमा उपाधि जितेको थियो । त्यति बेला पनि बंगलादेशले नेपाललाई नै हराएको थियो । नेपाल साफ च्याम्पियनसिपको फाइनलमै पराजित भएको यो छैटौं पल्ट हो ।
हारसँगै नेपालको फेरि पहिलोपल्ट उपाधि जित्ने सपना अधूरै रहेको छ ।
बङ्गलादेशकी रितुपोर्ना चक्माले गरेको जादुयी गोलको मद्दतले बङलादेशले जित सुनिश्चित गर्न सफल भयो । रितुले नेपाली पोस्टको ठीक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो ।
पहिलो हाफ गोलरहित बराबरी भएको फाइलनलमा खेलको दोस्रो हाफमा पहिलो गोल बंगलादेशले गरेको थियो । खेलको ५२ औं मिनेटमा मोनिका चक्माले गोल गरिन् ।नेपालले ५६ औं मिनेटमा गोल गरि बराबरीमा फर्कायो । प्रिति राईको थ्रु पासमा अमिशाले गोल फर्काउन सफल भइन् ।
अन्ततः रितुले गरेको गोलले नै बङ्गलादेशले वुमेन्स साफ च्याम्पियनसिपको उपाधि आफ्नो पोल्टामा पार्यो । खेलको अन्तिमतिर बङ्गलादेशले थपेको गोलले यसपटक पनि बङ्गलादेशलाई च्याम्पियन बनायो ।