मेलमिलाप सम्बन्धि छ्लफल तथा अन्तरक्रिया तानसेनमा सम्पन्न
पाल्पा ।
रामपुर नगरपालिकाको आयोजना तानसेन नगरपालिकाको समन्वयमा मेलमिलाप सम्बन्धि छ्लफल तथा अन्तरक्रिया कार्यक्रम पाल्पाको तानसेनमा भएको छ ।
रामपुर नगरपालिकाको न्यायिक समिति पदाधिकारी र मेलमिलापकर्ताको अध्ययन अबलोकन तथा अनुभव आदानप्रदान कार्यक्रमका अबसरमा भएको अन्तरक्रियामा मेलमिलापको माध्यमबाट गाउँ स्तरको बिवाद गाउँ तहमा नै मिलाउने अभ्यासले धेरै सहज भएको बताएका थिए ।
पाल्पा जिल्ला न्यायाधीश दल बहादुर के.सी. ले पाल्पा जिल्लामा पहिलेको दाजोमा अदालतमा उजुरी धेरै आएको बताउनुभयो । स्थानीय तहमा आएका उजुरी र मुद्दाको अबस्था अनुगमनका क्रममा संविधानले दिएको अधिकार प्राप्त गरेर मुद्दा स्थानीय तहमा न्यायिक समितिले मेलमिलापको माध्यमबाट बिवाद निरुपण गरेपनि उजुरी पर्ने क्रम पनि बढिरहेको बताउनुभयो । उहाँले अदालतमा आउने मुद्दा मध्य ५० प्रतिशत बढी सम्बन्ध बिच्छेदका हुने गरेको उल्लेख गर्नुभयो । सम्बन्ध बिच्छेद अन्तिम बिकल्पका रुपमा लिइएको र त्यो अगाडि धेरै बेमेल र समस्या भएकोले त्यसको जड समाधान हुने गरि समुदायमा सबैले सघाउनुपर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका न्यायिक समितिका संयोजक तथा उपप्रमुख बालकुमारी थापाले न्यायिक समितिमा आएका मुद्दा, पर्ने असहजता र मेलमिलाप केन्द्र,मेलमिलापकर्ताको अभ्यासका बारेमा जानकारी दिनुभयो ।
तानसेन नगरपालिकाका न्यायिक समिति संयोजक तथा उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले न्यायिक समिति वडा तहमा मेलमिलाप केन्द्रको क्रियाकलाप, बिवाद समाधानमा भएका अभ्यास, आएका उजुरी र बिबादका पक्षको भएका अनुभव सुनाउनुभएको थियो ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले न्यायिक समितिले स्थानीय तहम्म काममा धेरै सहजता ल्याएको बताउनुभयो । उहाँले सामान्य झमेलाले पनि कहिलेकाही ठूलो समस्या खडा गर्ने बताउदै मेलमिलापको माध्यमबाट समस्या समाधान गरिएको बताउनुभयो ।
कानुन व्यबसायी लाल कुमारी रानाले स्थानीय स्तरमा समझदारी जुटाउन गरिएको मेलमिलापको अभ्यास प्रभावकारी भएको बताउनुभयो । तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, तानसेन नगरपालिकाका र रामपुर नगरपालिकाका न्यायिक समिति सदस्यहरु, सचिवालयका कर्मचारी र मेलमिलापकर्ताको सहभागिता थियो । कार्यक्रमको सन्चालन तानपाका न्यायिक समिति सदस्य सबिता भट्टराईले गर्नुभएको हो ।
रामपुर नगरपालिकाका न्यायिक समिति पदाधिकारी र मेलमिलापकर्ताको टोली बुधबार तानसेन नगरपालिका, जिल्ला अदालतको समन्वयमा छलफल पश्चात् गुल्मीको तम्घास रेसुङ्गा नगरपालिका, अर्घाखाँची हुँदै फर्कनेछ ।