भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धनका लागि पाल्पाका पालिकामा अन्तरक्रिया
पाल्पा ।
पछिल्लो समय स्थानीय तहका योजनाका बिषयमा अख्तियारमा उजुरी परिरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पाल्पाका स्थानीय तहमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्बद्धन सम्बन्धी अन्तरक्रिया शुरु गरेको छ । शुक्रबार आयोगले जिल्लाको पुर्व रामपुर नगरपालिकामा सरोकारवालाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
रामपुर नगरपालिका स्तरीय जनप्रतिनिधि, नगरपालिकाका बिषयगत शाखा, राजनितिक दल, शैक्षिक संघसंस्था, पत्रकार लगायत सरोकारवालाबीच सहभागी अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलका प्रमुख सहसचिव राजेन्द्र कुमार पौडेलले जनता केन्द्रित, समुदाय केन्द्रित कार्य गर्दै जुन लक्ष्य र उद्देश्य लिएर जिम्मेवारी लिइएको छ सो उद्देश्यलाई टुङोमा पुर्याउने काम गरे ऐनमा भएको कसुर कायम नगरे मुद्दा नपर्ने हुँदा सबैले ध्यान दिएर काम र सेवा दिन आग्रह गर्नुभयो । मिडियाको सहयोगमा ललिता निवास देखि देशका धेरै मुद्दा दायर भएको बताउदै सुचना लिने दिने कुरामा चनाखो, सर्तक रहनुपर्ने बताउनुभयो ।

व्यक्ति, फिल्ड, प्रकृति र प्रबृति हेर्दा योजनाका खरिद र निर्माण तथा भत्ताका लागि गरिएको अनुगमनमा, शिक्षामा बहुबर्षिय योजनामा उजुरी बढी भएको दरबन्दी मिलानमा गलत प्रबृति रहेको बताउदै पौडेलले उजुरीका लागि उजुरी दिने भन्दा पनि सचेत र सकारात्मक पहललाई उजुरी महत्वपुणर् हुने बताउनुभयो । बेनामी उजुरी आयोगले सुचना लिने माध्यम बनेको बताउदै उहाँले दुःख दिने नियतले उजुरी गर्नेलाई छानविन र ५ हजार जरिवाना रहेको बताउनुभयो । कार्यालय प्रमुख पौडेलले आयोगले विगतमा फिल्डमा पुगेर छानविन गरे पनि पछिल्लो समय उजुरीको चाङ बढेपछि उजुरी परेमा सुरुवातमा सम्बन्धित कार्यालयबाट जवाफ माग्ने र त्यसपछि फिल्डमा जाने गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले कार्यसम्पादन गरेपनि सो अनुसारको रेकर्ड नहुदा समस्या आउने गरेको बताउनुभयो । गलत नियतले आयोगमा उजुरी दिँदा काम गर्न ढिला सुस्ती र सास्ती मात्र हुने गरेको बताउनुभयो । ‘कतिपय अवस्थामा ज्ञान नहुँदा काम भएको तर मुद्दा पर्ने अवस्था आएको छ । अहिले अख्तियारको जवाफ दिँदा दिँदा हैरान भएको छ, उहाँले भन्नुभयो-एक जना कर्मचारी नै व्यवस्थापन गरेर अख्तियारको जवाफ लेख्न लगाउनु पर्ने अवस्था सृजना भएको छ । यदि गलत नियतले उजुरी हालेको छ भने छानविन गर्नु आवश्यक छ-थापाले भन्नुभयो । आफ्नो काम झ्यालबाट छिरेर भएपनि गर्ने र अरुको काम ढोकाबाट आएर गरेपनि औला ठड्याउने प्रवृति हावी हुँदै गएको बताउनुभयो । उहाँले आफुले कुनै गल्ती गरेको छैन भने कसैले उजुरी हाल्दैमा डराउन नपर्ने सिकाई भएको बताउनुभयो । बेनामी उजुरीले योजनाको काम गर्दा सतर्कता दिने भएपनि गलत नियतको उजुरीले काम प्रभावित भएको भन्दै उजुरी दिनेहरु माथि पनि छानविन हुनुपर्ने र उजुरी लम्ब्याउने भन्दा आयोगले छिटो निष्कर्ष निकाले काम गर्न सहयोग पुग्ने बताउनुभयो ।

नगर उपप्रमुख बालकुमारी थापाले न्यायिक समितिको जिज्ञासा राख्दै न्यायिक समितिले कानुनी सल्लाहाकार राख्न नपाउँदा न्याय सम्पादनमा समस्या भएको गुनासो राख्नुभयो । उहाँले आयोगको सुझाबलाई पालना गरे भष्टाचार मुक्त हुने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले इन्जिनयरिङ्गको बिषयमा आफुहरुलाई पुरा सिकाई नहुने तर प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर चाहिने र पछि भुक्तानी दिएको बिषयमा मुद्धा खेप्नुपर्ने स्थिति भएकोले इन्जिनियरले पास गरेको फाईललाई प्रशासनसँग जोड्न नहुने बताउनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले अख्तियार प्रति जनताको विश्वास आशा पलाएको बताउँदै कतिपय अवस्थामा स्पष्ट ऐन तथा कानुनहरु नबन्दा स्थानीय तहमा समस्या देखिएको बताउनुभयो । दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले अख्तियार दुरुपयोगको विषयमा आमसमुदाय जानकार नहुँदा पनि समस्या भएको बताउनुभयो ।
अन्तरक्रियामा बोल्दै रामपुर नगरका सल्लाहाकार विष्णु मायाँ ढकालले बेनामी उजुरीका कारण योजनाका काम गर्न समस्या भएको बताउनुभयो । रामपुर ३ का वडा अध्यक्ष दामोदर पाठकले जानकारी पनि नभएकालाई संलग्न गराई मुद्धामा फसाउने र मुद्धा लम्बिदा दुःख दिने नियतले उजुरी दिनेलाई छानविन गरि कारवाही हुनुपर्ने बताउनुभयो । रामतुलसी मा.वि.का प्रधानाध्यापक बालकृष्ण लम्सालले झुट्टा उजुरी दिने माथि गरिएको कारबाहीको तथ्याङ्क सार्वजनिक गर्नु आवश्यक रहेको बताउनुभयो । नगरका सल्लाहाकार दिनेश कुमार खनालले मुद्दाका कारण रजघरा खानेपानीको काम हुन नसकेको गुनासो गर्नुभयो । त्यस्तै नेकपा (एकिकृत समाजवादी) रामपुरका अध्यक्ष फणेश्वर गौतमले उजुरीको समयमा फर्छ्यौट नहुँदा समस्या भएको बताउनुभयो । लक्ष्मीनारायण गुठी संस्थाका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले गुठीको जग्गा मोहीले आफ्नो नाममा नामसारी गरेको जानकारी गराउनु भएको थियो । जनकल्याण माविका प्रधानाध्यापक आनन्त प्रसाद भण्डारीले अख्तियारको दुरुपयोग गर्ने साना र ठूला सबैको छानविन हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका शाखा अधिकृत धर्मराज बुढाले आयोगको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै भ्रष्टाचार हुनुको कारण, असर, आयोगको संगठनिक अवस्था, आयोगका सिमा, संविधानले गरेको व्यवस्था, प्रवृति, भ्रष्टाचार नियन्त्रणका लागि कानुनी व्यवस्था, भ्रष्टाचार प्रमाणित भएमा हुने सजाय, नियन्त्रणको आवश्यकता, नियन्त्रणमा नागरिकको भुमिका तथा विश्व माझ नेपालको अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । आयोगले आर्थिक वर्ष २०८०/०८१ मा ३६ हजार १ सय ८६ उजुरी परेको मध्ये ८४.७२ प्रतिशत अर्थात २७ हजार ७ सय १४ मुद्दा फर्छ्यौट भएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा पाल्पाका स्थानीय तहहरुमा ३७ वटा उजुरी परेको र पाँच वटाको फर्छ्यौट भैसकेको जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सिनियर डिभिजनल इन्जिनियर पुण्यराम सुलुको स्वागत र प्रहरी सहायक निरीक्षक विरेन्द्र कार्कीको सञ्चालनमा भएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, नगरपालिका तथा नगर भित्रका सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले योजना तथा कार्यक्रम मर्म र सम्झौता अनुसार कार्यसम्पादन हुनुपर्ने र उजुरी दिने प्रबृति बढ्दै गएकोले यसले दु:ख दिने, समयमा काम नहुने, सहजता नपाउने र बिमुख हुनुपर्ने यसले समग्र असर विकास र सेवामा हुने भन्दै चुस्तदुरुस्त काममा जोड दिएका थिए ।