लुम्बिनीका निजि स्वास्थ्य सस्थाले वाेर्डमा सरकारी डाक्टरकाे नाम धमाधम मेट्न थाले
बुटवल ।
लुम्बिनी प्रदेश सरकारले गरेकाे स्वास्थ्य सम्बन्धि निर्णयकाे प्रभाव देखिन थालेकाे छ । सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थकर्मिकाे नाम राखेर निजी अस्पताल तथा स्वास्थ्य संस्थाले प्रचार गरेकाे पाईएपछि स्वास्थ्य मन्त्री खेमबहादुर सारुले त्यस्ता चिकित्सकलाई कारबाही गर्ने चेतावनी सहितको केही दिन अघि निर्देशन दिनुभएको थियो ।अहिले निजी अस्पताल तथा स्वास्थ्य संस्थाले सरकारी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको नाम धमाधम मेटाउन थालेका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालको नाम र पद प्रयोग गरी नीजि स्वास्थ्य संस्थाको ओ.पि.डि टिकट, साइन बोर्ड, आमसञ्चार माध्यम तथा सामाजिक सन्जाल मार्फत प्रचार- प्रसार नगर्न निर्देशन जारी गरेकाे थियाे ।
यसैबीच, लुम्बिनी प्रादेशिक अस्पतालले कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई पनि मन्त्रालयको पत्रानुसार निर्देशन जारी गरेपछि निजी स्वास्थ्य संस्थाहरुमा नाम मेटाउने अभियानले तिब्रता पाएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयको निर्देशन तथा निर्णय स्वागतयोग्य भएको बताउँदै मेसु ढकालले आफ्नो अस्पताल मातहतका कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कार्यान्वयनका लागि कडाईकासाथ लागू गरिने बताउनुभयो। अस्पतालको स्वास्थ्य सेवा सुधार तथा जनगुनासो कम गर्नका लागि कार्ययोजना निर्माण गरी अघि बढेको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि दिर्घकालिन र तत्कालिन योजना निर्माण गरी अघि बढिएको उल्लेख गर्नुभयो ।
सरकारी अस्पतालमा जागिर खाने तर, निजी स्वास्थ्य संस्थामा आफ्नो नाम झुण्ड्याएर दिन बिताउने परिपाटीलाई अन्त्य गरिने सारुले बताउनुभयो । प्रदेश सरकार मातहतका सबै सरकारी अस्पतालहरुमा जनशक्ति व्यवस्थापन, उपकरण व्यवस्थापन लगायतका लागि आवश्यक व्यवस्था गर्न मन्त्रालय लागिरहेको उहाँले बताउनुभयो ।
गएको साउन २८ गते बसेको मन्त्रीयस्तरीय बैठकको निर्णयले सरकारी नियुक्ती खाएकाहरुको नाम र पद प्रचारका लागि निजी स्वास्थ्य संस्थामा राख्न नपाइने निर्णय गरेको थियो ।