पाल्पाको रामपुर न.पा.मा औंशी र एकादशीमा पशु बध गर्न नपाइने
पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले औँशी र एकादशीका दिन पशुपंक्षी वध गर्न रोक लगाएको छ । नगरपालिकाले धार्मिक आस्था, परम्परा र स्वास्थ्यका लागि यी तिथिमा पशुपंक्षी वध नगर्न पत्र निकालेर जानकारी दिएको हो ।
नगरपालिकाले भदौ २४ गते एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्याउन र स्वास्थ्यका लागि पनि औँशी र एकादशीका दिन पशुपंक्षी बध नगर्न अनुरोध समेत गरेको छ ।
औँशी र एकादशी तिथिमा धार्मिक हिसाबले पशुपंक्षी वध गर्न राम्रो नमानिने र धार्मिक सहिष्णुता र सदभाव पनि कायम हुने हुँदा धार्मिक आस्थामा असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने हुँदा एकादशी र औँशीको दिनमा पशुपंक्षी वध नगर्न नगराउनु हुनका लागि यो सूचना प्रकाशन गरिएको छ-प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितद्दारा हस्ताक्षरित पत्रमा भनिएको छ । अब नगरपालिका क्षेत्र भित्र एकादशी र औँशीमा पशुपंक्षी वध गर्न नपाउने भएको छ । नगरपालिकाको निर्णय र सूचनालाई वेवास्ता गरि एकादशी र औँशीमा पशु वध गरेको पाईएमा कारवाही गरिने पण्डितले बताउनुभयो ।
एकादशी र औँशीमा पशुपंक्षी वध गर्दा धार्मिक आस्थामा असर पुगेको भन्दै रामपुर नगरपालिकाको कार्यालयमा जनगुनासो बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।धार्मिक साँस्कृतिक परम्परा अनुसार एकादशी र औँशीको दिनमा पशुपंक्षी वध गर्न नहुने भन्ने मान्यता समेत रहेको र स्वास्थ्यका लागि पनि फाइदा हुने भएकाले सो दिनमा पशुपंक्षी वध नगर्न नगर प्रमुख थापाले आग्रह गर्नुभयो।
यस सँगै रामपुर नगरपालिका क्षेत्र भित्र एकादशी र औँशी तिथिका दिन कुनै पनि व्यक्ति र समुदायले पशुपंक्षी वध गर्न नपाउने प्रवक्ता कपिल बहादुर खाँणले जानकारी दिनुभयो ।
