तीज प्रतियोगितामा “एकल नारीको पीडा” समेटिएको गीत प्रथम
पाल्पा ।
नेपाल महिला संघ रामपुरले नेपाली चेलीहरुको पर्व हरितालिका तीजमा मौलिक कला सस्कृति बचाइराख्न आयोजना गरेको ३१ औं खुला तीजगीत प्रतियोगितामा शहिद बहुमुखी क्याम्पसको बिना घिमिरेको समूह प्रथम भएको छ ।
नेपाली काङ्ग्रेसको भातृ सस्था नेपाल महिला संघले पाल्पाको रामपुरमा बिगत ३१ बर्ष देखि पाल्पाको रामपुरमा खुला तीजगीत प्रतियोगिता गर्दै आएको छ । प्रत्यक वर्ष तीजको ऋषिपञ्चमीको भोलिपल्ट गर्ने तीजगित प्रतियोगितामा यसबर्ष १३ समुहले आफ्नो प्रस्तुति देखाएका थिए ।
अन्य १२ समुहलाई पछि पार्दै शहिद बहुमुखी क्याम्पस नेबिसंघको टिम प्रथम हुन सफल भएको हो । सो समुहले एकल महिलाको पीडा र सामाजिक अबस्था, अबसरको बिषय समेटेको थियो । गीतमा बिदुवा र बुढीआमाको पीडा, बाबू खाई, श्रीमान खाई र आमा खान माइत आई देखि अर्को जन्म तिम्रै छोरा बन्न पाम भन्ने छोरीको इच्छामा आमाले हार नखान ढाडस दिदै सकारात्मक सन्देश दिएको थियो ।

प्रथम समुहलाई कालीगण्डकी बेकरी उद्योग तथा केक हाउस रामपुरले पुरस्कार सौजन्य गरेको थियो । सस्थाले गरेको प्रतियोगितामा सर्वोत्कृष्ट रकमको पुरस्कार रहेको यस प्रतियोगितामा कालीगण्डकी केक हाउसका सञ्चालक गणेश बहादुर क्षेत्रीले प्रथम पुरस्कार नगद २० हजार पुरस्कार सौजन्य गर्नुभएको हो । क्षेत्री परिवार र बिशिस्ट व्यक्तिहरुले प्रथम हुन सफल टिमलाई नगद रकम, प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा स्याङ्जाको चापाकोट छिपछापबाट भाग लिन आएको सीता पौडेलको समुह द्वितिय भयो । सो समुहले विकासको लागि एकबद्द हुन आग्रह गर्दै देशको हरेक नाजुक परिस्थितिलाई बुझ्ने नीति हुनुपर्ने सन्देश दिएको छ । बोलेर मात्र नहुने गरेर देखाउनु पर्नेमा जोड दिदै सबैभन्दा पहिले राज्यनिती निर्माण र कार्यान्वयनमा आफ्नो इच्छा चाहिने समेटेको थियो । द्दितिय पुरस्कार नेपाल तरुण दल रामपुर नगरले सौजन्य गरेको हो । तरुण दलका युवा प्रकाश ज्ञवाली सहित अतिथिहरुले पुरस्कार बिजेता समुहलाई नगद १५ हजार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

तृतिय स्थान प्राप्त गर्न सफल भएको क्षत्री समाज रामपुर पाल्पाको समुहले नगद १० हजार पुरस्कार पाएको छ । समुहले हत्या हिंसा मौलाएको,वृद्ध बा आमा, र बिदेशिएका युवालाई आउन आग्रह गरेका थिए । तृतीय पुरस्कार पाल्पाली समाज युएईका अध्यक्ष ओम कुमारी खाणले सहयोग गर्नुभएको हो । रामपुर ४ घर भई हाल युएईमा रहनुभएकी खाणले गतबर्ष पनि तृतीय पुरस्कार सौजन्य गर्नुभएको थियो ।
प्रतियोगितामा २ वटा समुहले कुल १५० पुर्णाङ्कमा समान १०९ अंक प्राप्त गरि सान्त्वना भएको छ । जहाँ स्याङ्जा चापाकोट ६ केवलघारीको केवलघारी उद्यमशिल महिला समूह र रामपुर ६ को मिना पाठकको समुह भएको निर्णायक मण्डलका संयोजक रामप्रसाद ढकाल (रमेश)ले जानकारी दिनुभयो । उद्यमशिल समुहले बिदेशियका युवाको पीडा, घर आउदा न श्रीमती, न सम्पत्तिको अबस्था, स्वदेशमै काम गर्न सुझाव, तक्दिरमा भए यही धनी होइएला भन्ने अपेक्षा र उद्यम सहितको स्वदेशकै माटोमा कर्म गर्न सुझाएको थियो । अर्को सान्त्वना पुरस्कार बिजेता रामपुर ६ को मिना पाठकको समूहले भर्खरै घटेका घटना र वास्तविक अबस्थाको चित्रण गरेको थियो । पिआर वालालाई छोरी दिएर लास ल्याउनुपरेको, सो घटनाले न्याय नपाएमा अब छोरी पाइदैन भन्ने कारुणिक भाव व्यक्त भएको थियो ।

प्रतियोगितामा सान्त्वना समुहले नगद ५/५ हजार नगद र प्रमाण पत्र पाएका छन् । सान्त्वना पुरस्कार युनिक सप्लायर्स रामपुरका अर्जुन भण्डारी र एल. जि. एसोसिएसनका आदेश रानाले सौजन्य गर्नुभएको हो ।

महिला संघले लोकतन्त्र स्थापनामा महत्वपुर्ण योगदान गर्नुभएका जेष्ठ महिलालाई सम्मान गरेको छ । तीज कार्यक्रमको अबसरमा रामपुर नगरपालिका ९ का लोक कुमारी सार्की, रामपुर ३ का तेजकुमारी घर्ती, रामपुर ७ का धनुमाया पौडेल, विष्णुमाया भट्टराई, रामपुर-५ का योगमाया गौतम र रामपुर ४ का जैतुन मियाँलाई सम्मान गरेको हो । साथै २०८० सालको माध्यमिक शिक्षा परीक्षामा पाल्पा जिल्ला प्रथम हुन सफल छात्रा पूर्णिमा लक्ष्मी कुवँरलाई सम्मान गरेको छ । पुर्णिमा लक्ष्मीको सम्मान उहाँको आमा बिष्णुमाया र बुवा मान बहादुर कुवरलाई पुरस्कार सहित सम्मान गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका शान्ति डोटेल, गायक सुरज भण्डारी , लक्ष्मी तिवारी (तिवारी आमा) र स्थानीय कलाकार मालती बि.क.ले तीजगीतमा प्रस्तुतिबाट भावुक बनाउने र हसाउने गरेका थिए । प्रतियोगिताकै मौकामा प्रथम पुरस्कार प्रायोजक कालीगण्डकी केक हाउसले बर्षभरीमा धेरै केक लैजाने व्यक्तिलाई गोला प्रथाबाट ५ जनालाई ५ हजार, ३ हजार र २ हजारबाट पुरस्कृत गरेको छ ।

प्रिती चाउचाउको बिक्रेताबाट प्रतियोगितामा भाग लिने, शो प्रस्तुति देखाउने र कलाकारलाई प्रति प्याकेट चाउचाउ बितरण गरेको थियो । पानी ढकाल सप्लायर्सले सौजन्य गरेको थियो । प्रतियोगिता सफल बनाउन साथ र सहयोग गर्ने व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रुपा बिक पोखरेल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नगरप्रमुख रमण बहादुर थापा, प्रदेश सदस्य तथा महिला संघ क्षेत्रीय सभापति बिष्णुमाया ढकाल, नगर सभापति नेत्र प्रसाद भट्टराई लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रम नेपाल महिला संघका नगर सभापति शारदा आचार्यको अध्यक्षतामा र उपसभापति साबित्रा गैरेको स्वागतबाट शुरु भएको थियो ।




