सबल न्युज डटकमका सम्पादक डोटेल पत्रकार महासंघ पाल्पाबाट पुरस्कृत
पाल्पा ।
सबल न्युज डटकमका सम्पादक सीता डोटेल नेपाल पत्रकार महासंघ पाल्पाबाट पुरस्कृत हुनुभएको छ ।
पाल्पा जिल्लामा रहेर झण्डै २ दशकदेखी पत्रकारिता गर्दै आउनुभएका सम्पादक डोटेललाई नेपाल पत्रकार महासङ्घ पाल्पाले महासंघमा स्थापित पुरस्कार एक कार्यक्रमको आयोजना गरि पुरस्कृत गरेको हो ।
तत्कालिन जिल्ला विकास समिति तथा जिल्ला समन्वय समितिबाट स्थापित सिर्जनशील पत्रकारिता पुरस्कारबाट उहाँलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नगद र सम्मान पत्र सहित सम्मान गर्नुभयो । सिर्जनशील पत्रकारिता पुरस्कारबाट ३ जना सहित २१ पत्रकार पुरस्कृत हुनुभएको हो ।

पाल्पाको ग्रामिण भेगमा मिडियाको आबश्यकता खड्किएर रामपुरमा सामुदायिक रेडियो खोल्न देखि अग्रसर डोटेल रेडियो पत्रकारिताबाट पत्रकारिता शुरु गर्नुभएको हो । लामो समय रेडियोमा रहेर पत्रकारिता गर्नुभएका उहाँ हाल सबल न्युज डटकमको प्रधान सम्पादक हुनुहुन्छ । दैनिक पत्र राष्ट्रिय दैनिक पत्रीकामा समेत आवद्ध डोटेल हाल पाल्पामा पत्रकार महिलाहरुको सस्था संचारिका समूह जिल्लाको अध्यक्ष समेत हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा क्रियाशील उहाँले विशेष गरि महिला, समसामयिक र स्थानीय विकासका मुद्दामा रहेर पत्रकारिता गर्दैआउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले मुख्यमन्त्री र मन्त्रीहरूले पालन गर्नुपर्ने आचारसंहिता लागू गर्न सुरुवात गरेको बताउदै यसले अनावश्यक खर्च कटौती हुने बिश्वास लिनुभयो । जिल्लामा महिनामा एक पटक भन्दा बढी जाँदा मुख्यमन्त्रीको अनुमति लिनुपर्ने व्यवस्था गरेको आफुले गरेको बताउनुभयो ।
पहाडी जिल्ला पाल्पामा पर्यटनको विकासमा जोड दिने र पाल्पालाई लुम्बिनी सर्किटसँग जोड्ने बताउनुभयो । भगवती जात्राको अबसरमा भएको सो कार्यक्रममा बोल्दै इतिहास र वीरता बोकेको भगवती मन्दिरको दुरावस्थालाई प्रदेश सरकारले आगामी बर्ष गम्भीरता पूर्वक पुनर्निर्माणको लागि आवश्यक बजेट बिनियोजन गर्ने उहाँले बताउनुभयो ।