बिद्युत्त महशुल वृद्धि बिरुद्ध आन्दोलनरत संघर्ष समिति वार्तामा जाने
पाल्पा ।
विगत ४ महिनादेखि आन्दोलनरत बुटवल पावर कम्पनी अन्तर्गतका विद्युुत्त उपभोक्ता बार्ताको लागि जाने भएका छन् । विद्युत नियमन आयोगले बुटवल पावर कम्पनीलाई विद्युत महशुलमा भारी बृद्धि गरेपछि शान्तिपुर्ण आन्दोलन गरिरहेका संघर्ष समितिलाई आयोगले वार्तामा बोलाएको थियो ।
आन्दोलनरत संघर्ष समितिको पाल्पाको रामपुरमा सम्पन्न बैठकले पाल्पा र स्याङ्जाका प्रतिनिधि सभा सदस्य तथा प्रदेश सदस्य, ६ स्थानीय तहका एक/एक जना जनप्रतिनिधि, राजनैतिक दलका एक/एक जना प्रतिनिधि, संघर्ष समितिका पदाधिकारी छनौट गरि वार्तामा जाने निर्णय गरेको हो ।
बैठकमा बोल्दै लुम्बिनी प्रदेश सांसद तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठले रामपुर नगरपालिकाको सभाहलमा बसेको बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले जनतालाई मर्का पर्ने गरि महशुल वृद्धि बिरुद्ध एकजुट भएर शान्तिपुर्ण आन्दोलन निरन्तर गर्नुपर्ने बताउनुभयो । उहाँले अन्धकारमा बसेका उपभोत्तालाई विभिन्न प्रलोभन देखाएर विद्युत्त ल्याएको तर त्यो अनुरुपको सेवा नदिएको गुनासो गर्दै आम नागरिकको सेवा र फाइदाका लागि सांसदहरु नगरिकको पक्षमा रहेको बताउनुभयो । विद्युत्त रामपुर क्षेत्रमा विस्तार गर्ने समय आफु विद्युत्त विस्तार समितिको अध्यक्ष समेत रहेको उल्लेख गर्दै उहाँले भनेअनुसारको सस्तो र अन्य सेवामा कम्पनी चुुकेको बताउनुभयो ।

गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले विगतमा भएका सम्झौता, कम्पनीको वास्तविक अवस्था अध्ययन गरेर मात्र वार्तामा जाने आधार खडा गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । स्थानीयको समेत लगानीमा सेवा प्रदान गर्दै आएको संस्थाले सेवामा सुधार नगरी एक तर्फी रुपमा महशुल वृद्धि गरे संगै कम्पनी वितरण केन्द्र रहेको गल्याङमा निरन्तर विरोधका कार्यक्रम हुँदै आएको बताउनुभयो ।
भिरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले विद्युत लाईनको लागि पोल, तार खरिद स्थानीय तहले गरिदिनु पर्ने र पोल जनताले गाड्नु पर्ने अबस्थामा जनताकै ढाड सेक्ने गरि गरिएको महशुल वृद्धि दुखद् भएको बताउनुभयो । वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह््रेले आधिखोला जलविद्युत्त अटेरी बनेको बताउनुभयो । चापाकोट नगरपालिका उपप्रमुख ईशा रानाले महशुल बृद्धि गरेको लामो समय भएकाले अब निष्कर्ष निकाल्ने गरि लाग्नुपर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले नागरिकलाई कम्पनीले बेइमानी गरेको बताउनुभयो । वालिङ नगरपालिकाका कार्यपालिका सदस्य हिरालाल वि.क.ले निरन्तर सबै पालिका जनप्रतिनिधि र सरोकार राख्ने व्यक्ति लागिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले बिद्युत्त महशुल बृद्धिको विरोधलाई प्रक्रियागत लैजानुपर्ने बताउनुभयो । काग्रेंस चापाकोट नगर सभापति विक्रम सारुले महशुल बृद्धिको चपेटामा यस क्षेत्रका हजारौं नागरिक परेको बताउनुभयो । नेकपा एमाले वालिङका नगर अध्यक्ष शोभाकान्त पौडेलले जनतालाई सेवा दिने योजना कम्पनीलाई चलाउन दिएर नाफामुखी भएको बताउदै राष्ट्रिय भन्दा फरक भएको र उद्देश्य भन्दा बाहिर गएर बृद्धि गर्न नहुने बताउनुभयो । राप्रपा स्याङ्जा क्षेत्र नं. २ क का अध्यक्ष सागर गैरेले सिंचाई, खानेपानी, बिद्युत्त र सरसफाई लगायतका उद्देश्य लिएर स्थानीय, नर्वेजियन र नेपाल सरकारले स्थापना गरेको जलविद्युत्तका शुरुदेखिका सम्झौता खोतल्नुपर्ने बताउनुभयो । उहाँले संस्थापक अध्यक्ष देखि तत्कालिन समयमा सरोकार राख्नेहरुबाट धेरै कुरा जानकारी लिन सकिने बताउनुभयो । नेपाली कांग्रेस भिरकोटका सभापति यम प्रसाद अधिकारीले नाङगो तारको जोखिम उत्तिकै रहेको र विद्युत्त चुहावट, चार्ज र ह्रास कट्टीमा ख्याल नगरेको बताउनुभयो ।

एकिकृत समाजबादी रामपुरका अध्यक्ष फणेश्वर गौतमले कम्पनीले मुल्यबृद्धि गर्दै जाने तर कर्तव्यको ख्याल नगर्ने अब नागरिकले मुआब्जा पाउनुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चा स्याङ्जाका राजेन्द्र गैरेले आन्दोलन र वार्ता गरिराख्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष रामप्रसाद गैह्रेले ४० हजार घरधुरीका नागरिक विरुद्ध विपिसी लागेको बताउनुभयो । राप्रपा रामपुरका अध्यक्ष राजेन्द्र ढकालले यो आन्दोलनलाई कमजार बनाउन नहुने बताउनुभयो । बोलने बक्ताहरुले तत्कालीन समयमा सरकार, युनाईटेड मिसन टु नेपाल र नर्वेजियन सरकार विच भएको सम्झौता अनुसार काम नभएको र आँधीखोला जलविद्युत कम्पनीले नेपाल विद्युत प्राधिकरण संग तुलना गर्नै नमिल्ने बताएका थिए ।
साथै बुटवल पावर कम्पनीमा यस क्षेत्रका स्थानीय तह र जनताले गरेको लगानीलाई बेवास्ता गरेको बताएका थिए ।
बैठकमा संघर्ष समितिका संयोजक नेत्र प्रसाद पाण्डेले हाल सम्म भएका कार्य, प्राप्त नतिजा, प्रमाण संकलन र भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो ।उहाँले बीपीसीले गुणस्तर सेवा प्रदान नगरेको, स्थापनामा भएका सम्झौता र उद्देश्य अनुरुप काम नभएको, अहिले सम्म मुआब्जा नदिएको, बिजुलीका तार र पोल अस्तव्यस्त भएको साथै स्थानीय तह र उपभोत्ताको लगानीका मुद्वा उठाउने गरि लाग्ने संघर्ष समितिका संयोजक नेत्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले संघर्ष समितिले बिद्युत्त नियमन आयोगलाई पटक पटक जानकारी गराएको र लिखत जानकारी समेत दिएको बताउदै अब वार्तामा बोलाएसँगै वार्ताटोली जाने बताउनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बैठकको एजेण्डा प्रस्तुत गरेको कार्यक्रम रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले सञ्चालन गर्नु भएको हो ।
विपिसीको विद्युत सेवा पाल्पा र स्याङ्जाका ६ स्थानीय तहका ४० हजार भन्दा बढी घरधुरी उपभोक्ताले उपभोग गर्दै आईरहेका छन् ।