पाल्पाका पिउने पानीमा ‘इकोली’ जीवाणु फेला
पाल्पा ।
पाल्पाका स्थानीय बासिन्दाले दैनिक प्रयोग गर्ने पिउने पानीको गुणस्तर कमजोर भेटिएको छ । जिल्लाका विभिन्न पालिकामा सञ्चालित ५२ वटा वटा खानेपानी योजनाको ११४ वटा नमुना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा २८ प्रतिशत पिउने पानीमा ‘इकोली’ जीवाणु भेटिएको हो ।
जिल्ला सदरमुकाम तानसेनका पाँच, रामपुरका १०, पूर्वखोलाका छ, निस्दीका चार, रम्भाका सात, बगनासकालीका पाँच वटा खानेपानी योजनाको पानी परीक्षण गरिएको थियो । यस्तै तिनाउका छ, माथागढीका दुई, रैनादेवी छहराका चार, रिव्दीकोटका तीन वटा खानेपानी योजनाको मुहानमै पानीको गुणस्तर परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । सबै पालिकाको ५२ वटा योजनामा गरिएको परीक्षणमा २० वटा खानेपानी आयोजनाको पानीमा ‘इकोली’ जीवाणु भेटिएको छ ।
५२ वटामध्ये १२ वटा स्वास्थ्य संस्थामा प्रयोग भएको पानीको शुद्धता परीक्षण गरिएकोमा २८ प्रतिशत इकोली जीवाणु भेटिएको कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, अहिले पनि स्वास्थ्य संस्थामा प्रयोग भएको पानीमा इकोली जीवाणु भेटिएको छ, त्यसले कुनैपनि बेला स्वास्थ्यमा गडबडी गर्न सक्छ, त्यसैले पानीलाई थप शुद्धिकरण गर्नुपर्ने आवश्यक देखिन्छ ।’
इकोली जीवाणु मानिसको दिसा, बङ्गुरलगायत घरपालुवा जनावरको दिशापिसावमा भेटिने जीवाणु हो । यसले हैजा, आउ, झाडापखाला, पानीजन्य अन्य रोगहरू टाइफाइड, पेट टाउको दुख्ने जस्ता रोग लाग्न सक्छ ।
पानीमा रहेको टर्वीडिटी, कन्डक्टिभिटी, क्लोरिनको परिमाण, पीएच र इकोलीको जाँच गर्दा यस्तो फेला पारेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । मानिसले दैनिक पिउने पानीको गुणस्तर सुधार गर्न दुई वर्षदेखि पाल्पाका स्वास्थ्य संस्थाका प्रयोग भएका र धेरै मानिसले प्रयाोग गर्ने पानीको गुणस्तर जाँच गर्दै आएको कार्यालयका ल्याव टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।
पानीको गुणस्तर जाँचपछि आएको रिपोर्टका आधारमा स्थानीय तह र सम्बन्धित उपभोक्तालाई पानीको गुणस्तर सुधार गर्न आवश्यक सुझाव प्रदान गरिएको उहाँले बताउनुभयो । पाल्पामा यो वर्षमात्रै ११४ वटा पानीको नमुना परीक्षण गरी गुणस्तर जाँच गरिएको थियो ।
पानी दुषित भेटिएपछि दुषित भएको कारण पत्ता लगाउन र समस्या समाधान गर्न सहयोग पुग्ने जिल्ला समन्वय सिमितका प्रमुख टंकनाथ खनालले बताउनुभयाे ।