2

Logo २०८३ बैशाख १४ सोमबार
बिपद बखत दलीय संयन्त्र परिचालनमा जोड

बिपद बखत दलीय संयन्त्र परिचालनमा जोड


Sabalnews प्रकाशित मिति : शुक्रबार, जेष्ठ २५ २०८१
603

काठमाडौँ।

प्राकृतिक तथा मानव सिर्जित विपत्तिमा परेका व्यक्तिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राजनीतिक दलहरूले आआफ्ना दलीय संयन्त्र परिचालन गर्ने भएका छन् ।

गृह मन्त्रालयले बिहीबार आयोजना गरेको ‘मनसुनको पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफल’ मा विभिन्न राजनीतिक दलका नेताले केन्द्रदेखि स्थानीय तहसम्मका वडाहरूमै परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझावसमेत दिएका छन् ।

विसं २०७२ को भूकम्पका बेला दलका नेता तथा कार्यकर्तासमेत खोज र उद्धारमा स्वयंसेवीका रूपमा परिचालन गरिएको थियो । छलफलमा सहभागी दलका प्रतिनिधिहरूले राजनीतिक दलहरूले सो विपत्तिमा पुर्‍याएको योगदानबाट शिक्षा लिँदै यस्तो संयन्त्र बनाउन सरकारलाई सुझाव दिएका हुन् ।

नेपाली कांग्रेसका नेता एवं सांसद मोहनबहादुर बस्नेतले भूकम्प र कोभिडका बेलाको सन्दर्भ जोड्दै तल्लो तहसम्म संरचना रहेका दलका कार्यकर्तालाई ढङ्ग पुर्‍याएर परिचालन गर्न सके तत्काल परिणाम आउने बताउनुभयो ।

एमालेका केन्द्रीय सदस्य एवं विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख किरण पौडेलले राज्यले विपत् व्यवस्थापनको स्रोतसाधन र दलहरूले जनशक्ति उपलब्ध गराउने अभ्यास प्रभावकारी हुने औँल्याउनुभयो । माओवादी केन्द्रका नेता सूर्य सुवेदीले सङ्घदेखि वडासम्म बनाइने ‘लुज फोरम’ ले राजनीतिक दलले नै नेतृत्व गरेका तीन वटै तहका सरकारबिच समन्वय गराउन भूमिका खेल्ने बताउनुभयो ।

राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विगतका विपत् प्रभावितको व्यवस्थापनमा ध्यान दिन र जनमत पार्टीका सांसद अब्दुल खानले विपत् व्यवस्थापनको दीर्घकालीन योजना बनाउँदा पनि दलहरूसँग छलफल गर्न सुझाव दिनुभयो । एकीकृत समाजवादीका नेता डा. गङ्गालाल तुलाधरले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपत्का बेला दलहरू एकजुट हुनुपर्ने र उनीहरूको परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनुपर्नेमा जोड दिनुभयो ।

दलका प्रतिनिधिहरूको सुझावपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले राजनीतिक होस् वा प्राकृतिक विपत्तिमा एकजुट हुने नेपालका दलहरूको विगतको अभ्यास सकारात्मक रहेको बताउनुभयो । उहाँले जनसेवाको उद्देश्यले तल्लो तहसम्मको संयन्त्र र स्वयंसेवक परिचालनको अनुभवका आधारमा पनि विपत् व्यवस्थापनमा दलहरूको योगदान महत्वपूर्ण हुने अपेक्षा गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com