महिनाबारी सम्बन्धी सचेतना जगाउन पाल्पामा “महिनाबारी मेला”
पाल्पा ।
पाल्पाको सदरमुकाम तानसेनको टुँडिखेलमा महिनावारीप्रतिको गलत धारणा हटाउन साताव्यापी ‘महिनावारी मेला’ आयोजना गरिएको छ ।
रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीका उपसभापति स्नेहा बस्नेतले महिनावारी मेला, वक्तृत्वकला प्रतियोगिता, विद्यालयमा सचेतना कार्यक्रम, जनचेतनामूलक नाटक लगायतका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
महिनावारीबारे धेरैजसो अहिले पनि खुलेर कुरा नगर्ने र प्राकृतिक प्रक्रियाबारे ग्रामीण क्षेत्रमा नकारात्मक सोच र भ्रमसमेत रहेकाले मेलामा जानकारी दिइएको कार्यक्रम संयोजक स्मारिका सिंह प्रधानले बताउनुभयो । कार्यक्रममा बोल्दै रजस्वलासम्बन्धी गलत धारणा र अन्धविश्वास चिर्न मेला सहयोगी बनेको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
लुम्बिनी मेडिकल कलेज, नेपाल परिवार नियोजन संघ, स्वास्थ्य कार्यालय, पाल्पा टेक्निकल इन्स्टिच्युट लगायतको समन्वय भएको मेलामा प्रजनन स्वास्थ्य, सरसफाइ र महिनावारीमा आवश्यक खानपिनको विषयमा विस्तृत जानकारी दिइएको परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले जानकारी दिनुभयो ।
मेला साथै अभियानमा महिलालाई रजस्वला हुँदा सफा र सहज हुने कपडा, प्याडबारे जानकारी र पुनः प्रयोग गर्न मिल्ने प्याडबारे सचेत गराइएको छ । मेलामा राखिएका स्टलमा महिनावारी प्याडको प्रयोग, यसको फाइदा, महिनावारी कप, महिनावारीमा पोषणयुक्त खानेकुरा र सरसफाइका विषयमा जानकारी गराइएको छ ।