डुम्रे–गुफाचौर सडक स्तरोन्नती हुने, विश्व बैंकसँग ४५ करोडमा सम्झौता
पाल्पा ।
पाल्पा तानसेनको डुम्रेदेखी गुफाचौर हुँदै होलाङ्दी सडकको स्तरोन्नती हुने भएको छ । तानसेन नगरपालिकाले विश्व बैंकसँग सम्झौता गरेसँगै सडक फराकिलो तथा कालोपत्रे हुने भएको हो ।
तानसेन नगरपालिकाको गौरब योजनाको रूपमा रहेको डुम्रेखोला–सुनडाँडा–तेल्घा–गुफाचौर–गाउँडाँडा–सल्लाघारी–होलाङ्दी जोड्ने मोटरबाटो स्तरोन्नतिको सम्झौता गरिएको हो ।
विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुने सडक स्तरउन्नतीका लागि तानसेन नगरपालिका र वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालि बीच सम्झौता भएको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिङ्जाली, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला सहित वडाध्यक्ष र कर्मचारीहरुको उपस्थितिमा आयोजनाको सम्झौता भएको हो ।
आयोजनाको कुल सम्झौता रकम ४५ करोड ७६ लाख ८३ हजार ८४ रूपैयाँ ७७ पैसा रहेको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यो बाटो तानसेन नगरपालिकाको गौरबको योजना रहेको बताउदै धेरै प्रयासपछि यश सडक योजना नगरपालिकामा ल्याउन सफल भएको बताउनुभयो। सडक निर्माण भएपछि तानसेन वडा न १० र ११ का नागरिक बढी लाभान्वित हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । बाटो स्तरउन्नति भएपछि पछिल्लो समयमा आन्तरिक पर्यटनको रोजाई बनी रहेको पर्यटकिय स्थल गुफा चौरको पर्यटन प्रवर्द्वनमा महोत्वपुर्ण भूमिका खेल्ने अपेक्षा रहेको छ ।
तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाका अनुसार आयोजनाको सम्झौता बमोजिमको वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालिलाई १३ महिना भित्र काम सक्ने गरि सम्झौता गरिएको बताउनुभयो । यस आयोजनाबाट करिब ६ दशमलव ८ किलोमिटर सडकको स्तरउन्नती हुनेछ ।