ब्लड बैँक स्थापनाका लागि पाल्पामा तिब्र अभियान
पाल्पा ।
रगतको अभाव झेलिरहेको पाल्पामा रगत जुटाउन पहल स्वरुप पाल्पामा ब्लड बैँक स्थापनाका लागि अभियान तिब्र रुपमा सञ्चालन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले रगतको अभाव हुन नदिन ब्लड बैँक स्थापनाका लागि जिल्लाका स्थानीय तह, राजनैतिक दल, रेडक्रस मातहतका समिति, विभिन्न सङ्घसंस्थाहरू र बाहिरी जिल्लामा पाल्पालीहरुसँग छलफललाई द्रुत बनाएको छ ।
ब्लड बैँक स्थापनाका लागि तीन करोड बढी रकम लाग्ने र त्यसका लागि आर्थिक स्रोत जुटाउने कामको सुरुवात भएको रेडक्रस पाल्पा शाखाका सभापति बावुराम कार्कीले बताउनुभयो । स्थानीय र प्रदेश सरकारससँग पूर्वाधार स्थापनाका लागि सहयोगको लागि आग्रह गरिएको उहाँले बताउनुभयो । ब्लड बैँक स्थापनाका लागि पहिलो चरणमा पूर्वाधार निर्माण गर्ने र दोस्रो चरणमा त्यसलाई नियमित सञ्चालन गर्न सुनिश्चित हुने गरी रकम सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो ।
शाखाले पाँच हजार बढी मानिसको रगत पहिचान गर्ने, रगत दान गर्न प्रोत्साहन र जनचेतना अभिवृद्धि गर्ने, बिरामीका लागि आवश्यक रगत सङ्कलन गर्न व्यवस्थापन समूह बनाउने कार्य गर्ने योजना बनाएको छ ।
लुम्बिनी मेडिकल कलेज प्रभास, युनाइटेड मिसन अस्पताल र जिल्ला अस्पताल सहित रामपुरमा ५० शैयाको रामपुर अस्पताल र १५ शैयाको आयुर्वेदिक अस्पताल रहेको पाल्पाका यी ठुला अस्पताल स्याङ्जा, गुल्मी, अर्घाखाँची सहितका जिल्लाको दैनिक उपचारको थलो समेत हो ।
नियमित उपचारदेखि आकस्मिक तथा दुर्घटनामा अत्यावश्यक हुने रगत हाल बिरामीले आफन्ती गुहारेर, नेपाली सेना, प्रहरीको आशा गरेर र बुटवल, भैरहवाबाट खोजेर ल्याउनुपर्ने बाध्यता छ ।
रगत अभावले बिरामीको ज्यानै जान सक्ने अबस्थाबाट अब सहज र सरल तथा छिटो व्यबस्थाका लागि पाल्पामा नै ब्लड बैंक राख्न पहल स्वरुप टिम बनाएर लागिपरेको शाखा सदस्य तथा संयोजक डा. झपेन्द्र ढकालले बताउनुभयो । ब्लड बैँक स्थापनाको महत्वपूर्ण काम रकम जुटाउनका लागि शाखाले विभिन्न क्षेत्रसँग छलफल गरिरहेको छ । शाखाले चन्दा सङ्कलनलाई सबैभन्दा बढी प्राथमिकता दिएर काम गरिरहेको शाखाका सदस्य ढकालले बताउनुभयो । ‘ब्लड बैँक स्थापना हुनुमात्र ठूलो नभएर त्यसलाई निरन्तर सञ्चालन गर्नु हो भन्ने मान्यताका साथ शाखा लागेको उहाँको भनाई छ । विभिन्न व्यक्ति, समूह र संस्थाबाट स्वतस्फूर्त रुपमाा दान सङ्कलन गर्ने कार्य अगाडि बढाएको शाखाले जनाएको छ । हाल पाल्पाका संयन्त्र, पालिका, जिल्लाका सरोकार सस्था, बुटवल, पोखरा, काठमाडौंमा पहिलो भेटघाट गरेको शाखाका कार्यक्रम अधिकृत बिनोद भारतीले बताउनुभयो ।
पाल्पाका चार वटा अस्पतालमा दैनिक सय पिन्ट बढी रगतको आवश्यक छ । यद्यपी यसको परिपूर्ति हुन नसक्दा विभिन्न व्यक्तिसँग हारगुहार गर्नुपरेको अस्पतालहरूले जनाएका छन् । रगत अभावमा अहिले पनि बुटवल, भैरहवा, नवलपरासी दौडिनुपर्ने अवस्था रहेको छ ।