गुन्योचोली दौरासुरुवाल सिलाई सम्बन्धी एक महिने तालिम सम्पन्न
पाल्पा ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना र कालीगण्डकी फाउण्डेशन नेपालको समन्वयमा पाल्पाको रामपुरमा चलेको नेपाली पोषाक गुन्योचोली तथा दौरासुरुवाल कटाईसिलाई तालिम सम्पन्न भएको छ ।
तालिम समापनमा सहभागीलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले व्यवसायिक रुपमा सिलाई कटाईमा लाग्दै आउनु भएका महिलाहरुको क्षमता विकास गरेको बताउनुभयो । मौलिक पोशाक प्रति आकर्षण बढ्दै गएपनि तयार गर्ने दक्ष जनशक्ति निकै कम रहेको बताउदै उहाँले पेशाको सम्मान गर्दै व्यवसायमा निरन्तर लाग्न अनुरोध गर्नुभयो । उहाँले आफुले पनि यही जनशक्तिबाट दौरा सिलाउने रुची जागेको बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्याम कुमार पौडेलले रामपुर क्षेत्र शहर उन्मुख भएकोले रामपुरको आवश्यकतालाई महशुस गरेर तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिमले महिलाहरुको आर्थिक स्तर वृद्धि गर्नमा जोड गरेको उहाँले बताइदै आगामी दिनमा थप तालिम ल्याउन कार्यालयले जोड दिने उहाँले बताउनुभयो ।
कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले समुह बनाएर व्यवसायिक रुपमा नेपाली पोशाक उत्पादनमा लाग्न अनुरोध गर्नुभयो । आगामी दिनमा व्यवसाय प्रबर्द्धनका लागि थप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका उपाध्यक्ष पवित्रा ढकाल पौडेलले पेशामा आबद्ध महिला दिदी बहिनीलाई तालिमले थप सहयोग गरेको बताउनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका सचिव सीता डोटेलले सीपको सदुपयोग गर्दै व्यबसायलाई थप विकास गर्न अनुरोध गर्नुभयो । त्यस्तै तालिमका प्रशिक्षक प्रजुना सोमैले तालिममा सफल रुपमा सम्पन्न भएको बताउँदै सहभागी दिदीबहिनीहरुको सहकार्य निकै उत्कृष्ट रहेको बताउनुभयो ।

प्रशिक्षार्थी लक्ष्मी ढकालले तालिमले व्यवसायमा लाग्दै आएका महिला दिदी बहिनीहरुमा थप आत्मविश्वास जगाएको बताउनुभयो । चोली दौरा सिलाएकोलाई पनि यो तरिका सहज र फिन्सिङ राम्रो आएको बताउनुभयो ।
पछौटेपन उन्मुलन समाज बेस नेपालको सभाहलमा चलेको तालिममा रामपुर क्षेत्रमा व्यवसायिक रुपमा सिलाई कटाई पेशामा आवद्ध १८ जना महिलाले थप सीप बिकासको लागि दौरासुरबाल चोली सिलाई तालिममा सहभागीता रहेको थियो । उनीहरुलाई प्रशिक्षक प्रजुना सोमैले नेपाली पोशाक दौरा,सुरुवाल र गुन्यु चोली सिलाउन सिकाउनुभएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्याम कुमार पौडेलको अध्यक्षतमा भएको समापन कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले गर्नुभएको हो ।