प्रस्तावना तथा माइन्युट लेखन तालिम सम्पन्न
पाल्पा ।
रामपुर नगरपालिकाको आयोजनामा वडा नम्बर १० मा चलेको प्रस्तावना लेखन तथा माइन्युट लेखन सम्बन्धी २ दिने तालिम सकिएको छ ।
शहरी स्वास्थ्य केन्द्र काब्रोघारीमा चलेको तालिममा रामपुर नगरपालिका १० का टोल विकास संस्था, समुह तथा विभिन्न योजनाका प्रतिनिधि सहभागी थिए । सहभागीलाई योजनाको प्रस्तावना लेखन तथा विविध बिषयको बैठकको माइन्युट लेखनका बिषयमा ज्ञान सीप दिइएको हो ।

तालिममा बोल्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिका वडा नम्बर १० का योजना, समुह, संस्था र विभिन्न कार्यक्रम बैठकमा सहभागी भएर माइन्युट लेख्न आवश्यक पर्ने हुँदा यहाँका नागरिकलाई तालिम सञ्चालन गरिएको बताउनुभयो । हरेक कार्यक्रम योजनामा बारेमा जान्नुपर्ने उद्देश्य आबश्यकता अनुसार बिषयबस्तु मिलाएर प्रस्तावना लेख्न र माइन्युट लेख्नुपर्ने भएकोले यसको जानकारीको लागि तालिम दिइएको हो । तालिममा सिकेका ज्ञानसीप प्रयोग गरेर हरेक कार्यक्रमो प्रस्तावना र बैठक कार्यक्रमको माइन्युट लेख्न सक्ने बन्न उपप्रमुख बालकुमारी थापाले आग्रह गर्नुभयो ।

२ दिनसम्म चलेको तालिममा रामपुर नगरपालिकाका योजना शाखा प्रमुख बिक्रम बस्नेत, रोजगार संयोजक गणेश प्रसाद रेग्मी र सहायक महिला विकास निरिक्षक पुजा परियारले प्रस्तावना लेखनको ढाँचा र तरिका, माइन्युटको महत्व र लेखन तरिका बिषयमा सहजिकरण गर्नुभएको थियो ।
रामपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तोयानाथ सारु थापाको अध्यक्षतामा भएको तालिममा बोल्दै अध्यक्ष सारुले नगर र वडाका हरेक योजना कार्यक्रमबारे अति आबश्यक ज्ञानसीप सम्बन्धी जानकारी तालिममा दिएको बताउदै आउदा दिनमा तालिममा सिकेका बिषयलाई ध्यान दिएर काम गर्न सहभागीलाई आग्रह गर्नुभयो ।