रैनादेवी छहरा गाउँपालिकामा दाते ओखर लगाइने
पाल्पा ।
रैनादेवीछहराले गाउँपालिकाको विभिन्न स्थानमा दाते ओखर लगाउने भएको छ । पालिकाले किसानलाई ५ सय बढी दाँते ओखरको विरुवा वितरण गरेको छ ।
डिभिजन वन कार्यालय पाल्पासँगको समन्वयमा गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ नं वडाका कृषकहरूलाई ५ सय ५ वटा दाँते ओखरको विरुवा वितरण गरेको गाउँपालिकाका अध्यक्ष रुक्माङगत भट्टराईले बताउनुभयो ।रैनादेवी छहरा गाउँपालिकाको ३ नं वडा कार्यालयमा एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले किसानहरुलाई ओखरका विरुवा हस्तान्तरण गर्नुभयो । उहाँले गाउँको खेर गइरहेको जंगलमा वनकाष्ठ पैदावार दाँते ओखर, गैरकाष्ठ पैदावर तेजपात, टिमुर लगायतका आयआर्जन मुलक विरुवा लगाउन आग्रह समेत गर्नुभयो ।
कृषि र पशुपालनमा गाउँपालिकाले सदैव सहयोग गरेको बताउदै अध्यक्ष भट्टराईले आयआर्जनका लागि कृषिमा जोड दिईएको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले ओखरका लागि उपयुक्त क्षेत्रमा डिभिजन वन कार्यालयको समन्वयमा बिरुवा बितरण गरिएको बताउनुभयो ।कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष प्रदिप पौडेल, वन प्राविधिक सुरुचि भट्टराईले नियमित रेखदेख गर्दै यही बिरुवाबाट अझ बिस्तार गर्न सकिने बताउनुभयो । उहाँहरुले कृषकहरूलाई बितरण गरेको विरुवाको संरक्षण गर्न आग्रह गर्नुभयो ।