रामपुरमा गुन्युचोली र दौरासुरवाल सिलाई-कटाई सम्बन्धि १ महिने तालिम शुरु
पाल्पा ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना र कालीगण्डकी फाउण्डेशन नेपालको समन्वयमा नेपाली पोषाक दौरासुरवाल गुन्युचोली सिलाई सम्बन्धि तालिम रामपुरमा शुरु भएको छ ।
रामपुर नगरपालिकामा चलेको १ महिने तालिम उद्घाटन गर्नुहुदै रामपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बजार भेगमा धेरै सिलाई कटाई व्यबसायिक भएपनि धेरैमा यो सीप नभएकोले तालिम फलदायी हुने बताउनुभयो । तालिम पाउनु भन्दा पनि यो समयावधिमा धेरै भन्दा धेरै सीप सिकेर व्यबसायिक हुन आग्रह गर्नुभयो ।

नेपाली पोषाक दौरासुरुवाल सिलाई कटाई सम्बन्धि तालिम बजार क्षेत्रमा आवश्यकता महशुस गरेर घरेलु तथा साना उद्योग कार्यालयले रामपुर र तानसेनमा तालिम आयोजना गरेको उद्योग अधिकृत श्याम कुमार पौडेलले बताउनुभयो । “भएको सीपलाई थप दक्षता दिन निखारता ल्याउनु एउटा कुरा हो, व्यबसायिकतालाई बढाउदै आयआर्जनलाई बढावा दिनु तालिमको मुख्य उद्देश्य हो पौडेलले भन्नुभयो । उहाँले ध्यान दिएर सिक्न सहभागीलाई अनुरोध गर्नुभयो ।

तालिम समापनमा कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले रामपुर क्षेत्रमा बेसिक सीप सिकेर व्यबसायिक काम गरिरहेकालाई एड्भान्स रुपमा दौरासुरुवाल र गुन्युचोली तालिममा सहभागी बनाएको र राम्रो गरि तालिम सिक्न आग्रह गर्नुभयो ।
मातृशक्ति फाउण्डेशन नेपालका अध्यक्ष लक्ष्मी ढकालले तालिमले महिलालाई आत्मनिर्भर र आयआर्जन गराउन सघाउने बताउदै ध्यानपुर्वक सबै समयभर सक्रिय भएर तालिम लिन अनुरोध गर्नुभयो ।
तालिममा रामपुर क्षेत्रका व्यबसायिक रुपमा सिलाई पसल संचालन गर्दै आएका १८ जना महिला सहभागी छन् । तालिममा प्रजुना सोमैले सहजिकरण गर्नुहुनेछ ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन उद्योग कार्यालयका उद्यम सहजकर्ता मनोज घिमिरेले गर्नुभएको हो । तालिम आगामी चैत १९ गतेसम्म चल्नेछ ।