तानसेन नगरपालिकाको आयोजनामा फागुन १९ देखि “तानसेन महोत्सव”
पहिलो पटक तानसेन नगरपालिका आफैले आयोजना गर्न लागेको मेलामा १० करोड बढीको कारोवार हुने अनुमान छ । टुँडीखेल मैदानमा यस अघि अन्य संघ संस्थाबाट सम्पन्न मेला महोत्सवबाट तानसेन नगरपालिकाले मनोरन्जन शुल्क बापत मात्रै ३५ र ४० हजार सेरोफेरोमा आम्दानी गरेको स्मरण गर्दै तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले नगर सरकार आफैले मेला आयोजना गर्दा ६१ लाख बढीको राजश्व बचत भैसकेको जानकारी दिनुभयो ।
मेला सम्पन्न गर्न नगरपालिकाले टेन्डर मार्फत आब्हान गर्दा बढी रकम दिने समुहबाट सो रकम बुझिसकेको ज्ञवालीको भनाई छ ।
पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रर्वद्धनका लागि तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो । स्थानीय सरकारवाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले सघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दे अगाडी बढ्न समेत सहयोग मिल्ने मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।
महोत्सवमा विभिन्न औधोगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रवद्र्धन, लगानीका अवसर सिर्जना र आकर्षण गर्ने लघु तथा साना उद्योगको प्रर्वद्धन, साना उद्यमी एवम विषयगत प्रदर्शनी गरिने जनाइएको छ ।