चापाकोट महोत्सबमा आजदेखि स्वर्गीय सन्तोष थापा स्मृतिकप शुरु
स्याङ्जा ।
स्याङ्जाको चापाकोटमा जारी महोत्सवमा स्वर्गीय सन्तोष थापा स्मृतिकप २०८० शुरु भएको छ । दोस्रो चापाकोट महोत्सवमा राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने गरि भलिबल खेलाडी स्वर्गीय सन्तोष थापाको सम्झनामा स्मृतिकप भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको सुभारम्भ गर्दै चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाँण इश्वरले स्वर्गीय थापाको सम्मानसँगै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुगोस भनेर खेल सञ्चालन गरिएको बताउनुभयो । उहाँले खेलको माध्यमबाट युवाहरुको व्यक्तित्व विकास हुनुकासाथै राष्ट्रलाई नै योगदान पुर्याउने खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले अहम भूमिका खेल्ने औंल्याउनुभयो ।
चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा भएको प्रतियोगिता चापाकोट नगर खेलकुद समितिको व्यवस्थापन र गण्डकी प्रदेश भलिबल संघको समन्वय तथा चापाकोट नगरपालिकाको संरक्षकत्वमा भएको खेल संयोजक राजन दर्लामीले बताउनुभयो ।
चापाकोट नगरपालिका वडा नम्वर २ धुर्कोट पुरानो थलो भई हाल रामपुर ५ का स्वर्गीय थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।निधनको ४५ दिन पुगेको अवसर पारेर खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । स्वर्गीय थापा गण्डकी प्रदेशकै अब्बल भलिबल खेलाडी थिए । स्वर्गीय थापाको स्मृतिमा सञ्चालन गरिएको प्रतियोगितामा चापाकोटमै पहिलो पटक राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको छ ।
गण्डकी र लुम्विनी प्रदेशका सात जिल्लाका सात टीमको सहभागिता रहेको भलिबलको उद्घघाटन पाल्पा र पर्वतकाबीच मैत्रीपूर्ण खेल भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीलाई रु ५ हजारकासाथै बिभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गरिने छ । फागुन १३ गते महोत्सव समापनका दिन फाइनल खेल हुनेछ ।