तनहुँ मानपुर- डेढगाउँ सडक मर्मतका लागि १५ दिन बन्द हुने
नवलपुर ।
पोखरालाई तराई र दक्षिणी भेगका जिल्लालाई छुने छोटो दुरीको मानपुर–डेढगाउँ सडक १५ दिन अवरुद्ध हुने भएको छ।
सडक कालोपत्रे गर्नको लागि आगामी फागुन ७ गते देखि २२ गतेसम्म सडक बन्द हुने पूर्व विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो। मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको रुपमा रहेको यस सडक अन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुने भएकोले बाटो बन्द गरिने भएको हो ।
यस बाटो पोखरालाई तराई जोड्ने र नारायणघाट पुग्ने मुङ्लिन खण्डको बैकल्पिक बाटो हो भने पुर्व नवलपरासी, पुर्व पाल्पा जिल्लाका नागरिकलाई पोखरा पुग्ने सहक र छोटो बाटो हो ।
गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रूपमा सूचीकृत गरेको यस आयोजनाको घिरिङ गाउँपालिकाको मानपुरबाट कालोपत्रे सुरु गरिने कार्यालयका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिनुभयो । अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गरिने कार्यालयले जनाएको छ।
सडक बन्द हुने समय अवधिभर वैकल्पिक सडक प्रयोग गर्न कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।