लुम्बिनीमा ट्रायल सेन्टर सञ्चालनमा कडाइ, आफ्नै सवारीले ट्रायल दिन पाउने
लुम्बिनी ।
लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल सेन्टर सञ्चालनमा कडाइ गर्ने भएको छ । मन्त्रालयले मापदण्ड विपरीतका सञ्चालनमा रहेका त्यस्ता ट्रायल सेन्टरहरु बन्द गर्ने जनाएको छ । लुम्बिनीका १२ जिल्लामा यस्ता कति वटा सेन्टर छन् भन्ने विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ ।
यातायात मन्त्री सरोज थापाले सम्बन्धित कार्यालय प्रमुखसँगको बैठक गरेर मापदण्ड विपरीतका ट्रायल सेन्टरहरु सञ्चालनमा रोक लगाउने निर्णय गराएका हुन् । मन्त्रालयले सुचना नै जारी गरेर १२ जिल्लामा त्यस्ता ट्रायल सेन्टरहरुको खोजी गर्न लागेको छ ।
मन्त्री थापाको निर्देशनमा कार्यालयले परीक्षामा परीक्षार्थीले आफ्नै सवारीसाधन प्रयोग गरेर ट्रायल दिन पाउने व्यवस्था गर्ने निर्णय समेत भएको छ । त्यस्तै, सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा र प्रयोगात्मक परीक्षामा अनाधिकृत व्यक्तिहरुको प्रवेश नियन्त्रण गर्ने, डिजिटल प्रविधि मार्फत् हाजिर गराउने जस्ता निर्णयहरु भएको महाशाखा प्रमुख पन्थीले बताउनुभयो ।
जेष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्ता भएका व्यक्तिलाई पालो कुर्न नपर्ने गरी सेवा प्रवाहमा व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ । अब चालक अनुमतिपत्र लिने नागरिकहरुलाई बिचौलियाको हैरानीबाट मुक्ति मिल्ने यातायात मन्त्रालयका महाशाखा प्रमुख राजेन्द्रप्रसाद पन्थीले बताउनुभयो।
बिचौलियाको बिगबिगी भएर सेवाग्राहीले हैरानी खेप्नु परेकाले अवैध सेन्टरहरु खोजी गरेर सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । सम्बन्धित कार्यालयलाई अवैध सेन्टर कति छन् भनेर विवरण संकलन गर्न लगाइएको छ ।
मन्त्री थापाले यातायात व्यवस्था तथा सेवा कार्यालयका प्रमुखहरुलाई मन्त्रालयमा बोलाएर प्रशासनिक काममा त्रुटि नहुने गरी काम गर्न र सहज सेवा दिन निर्देशन दिनुभएको छ । कार्यालय प्रमुखलाई दोस्रो त्रैमासिक तथा अर्धवार्षिक कार्य प्रगति प्रस्तुत गर्न, मापदण्ड पुगेका सेन्टरहरुलाई मात्र सूचीकृत गर्न र अन्यलाई बन्द गराउन मन्त्री थापाको निर्देशन छ ।