घाइते भलिबल खेलाडी अस्मितालाई सहयोग प्रदान
पाल्पा ।
भलिबल खेल सम्बन्धि महिलाहरुको सस्था स्टेप रामपुरको पहलमा महिला भलिबल खेलाडी अस्मिता घर्ती मगरको उपचारको लागि संकलित रकम प्रदान गरिएको छ । खेल अभ्यासको क्रममा चोट लागेर घाइते हुनुभएका अस्मिताको उपचारको लागि स्टेप रामपुरले विभिन्न व्यक्ति तथा संस्थाबाट संकलन गरेको रकम प्रदान गरेको हो ।

विभिन्न व्यक्ति तथा संस्था बाट संकलन भएको १ लाख ६ हजार रुपैयाँ sister talent expose place (स्टेप) रामपुरले मंगलबार हस्तान्तरण गरेको हो । रामपुर नगरपालिका वडा नम्बर ६ तालपोखरा अस्मिता घर्तीको घर पुगेर सो रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, जिल्ला भलिबल संघका अध्यक्ष राजु गुरुङ, अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटा, नमस्ते पाल्पा दक्षिण कोरियाका संस्थापक कोषध्यक्ष तथा नेपाल प्रतिनिधि मोहन थापा, मकाउ मगर संघका महासचिव डन मगरका दाई टुक बहादुर थापा, स्टेप रामपुरका उपाध्यक्ष जमुना राना, प्रशिक्षक कमल राना लगाएतको उपस्थितिमा अस्मिता र उहाँको दाजु कृष्ण घर्तीलाई रकम प्रदान गरिएको थियो ।

रकम हस्तान्तरण गर्दै अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले शिघ्रस्वास्थ्य लाभको कामना गर्दै समाज र राष्ट्रलाई चिनाउने खेलाडीहरुका लागि राज्यको नजर पुग्नु आवश्यक रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रमा महिलाहरुको विशिष्ट योगदान रहेको बताउनुभयो । जिल्ला भलिबल संघका अध्यक्ष राजु गुरुङले अस्मिता घर्ती प्रतिभावान उदाउँदो खेलाडी रहेको बताउँदै जिल्ला भलिबल संघले पनि आवश्यक पहल गरिरहेको बताउँनुभयो । अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाले खेलप्रतिभाको जिम्मा राज्यले लिनु पर्ने अवस्थामा युवाहरुले अभियान सञ्चालन गर्नु पर्ने अवस्था आएको भन्दै राज्यको नजर पुग्नु आवश्यक रहेको बताउनुभयो ।
मकाउ मगर संघका महासचिव डन मगरको पहलमा संकलन भएको नगद ५० हजार, नमस्ते पाल्पा कोरियाबाट प्राप्त ३१ हजार, सञ्जय मेमोरियल फाउण्डेशन बाट प्राप्त १० हजार सहित जिल्ला भलिबल संघ, नगर भलिबल संघका पदाधिकारी लगाएत विभिन्न व्यक्ति तथा संस्था संग सहयोग संकलन गरी रकम प्रदान गरिएको जिल्ला भलिबल संघ पाल्पाका सदस्य एवं स्टेप रामपुरका खेल प्रशिक्षक कमल रानाले जानकारी दिनुभयो ।
स्टेप रामपुरका उपाध्यक्ष जमुना रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सञ्जु परियारले गर्नु भएको थियो ।
अस्मितालाई यस अघि अध्ययनरत विद्यालय कुँवरवर्ती ईङ्गलिश बोर्डिङ्ग स्कुल तिलोत्तमा रुपन्देहीले पनि उपचारको लागि एक लाख रकम प्रदान गरेको थियो । गत कार्तिकमा दैनिक अभ्यासको क्रममा लिगामेन्ट गएपछि उहाँको मणिपाल अस्पताल पोखरामा उपचार हुँदै आएको छ । अस्मिताले जिल्लाबाट प्रदेशमा प्रतिनिधित्व गर्दै धेरै खेल खेलिसक्नुभएको छ ।गत वर्ष राष्ट्रिय महिला भलिबल यु १८ मा लुम्बिनी प्रदेशबाट खेल्नु भएको थियो। साथै राष्ट्रिय स्तरको महिला भलिबलमा समेत खेल्न सुरु गरिसक्नु भएको थियो ।