माघे सक्रान्ति मेलाको तयारी हुदै
काठमाडौं ।
माघे सक्रान्ति मेला लाग्ने नेपालका विभिन्न स्थानमा मेलाको तयारी भएको छ । विशेष गरि तराईमा माघी र पहाडमा माघे सक्रान्ति मनाइने गरिन्छ । नेपालीहरुले पछिल्लो समय विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरुमा दुई देखि ५ दिनसम्म दैनिक मेला भर्ने गरि माघे सक्रान्तिलाई पर्वको रुपमा मनाउदै आएका छन् ।
चार धाममध्येको पाल्पा, गुल्मी र स्याङजाको धार्मिक स्थल रिडीमा माघे संक्रान्ति मेला सोमबार (भोली) देखि सुरु हुने भएको छ । चारधाममध्येको एक नेपालकै प्रसिद्ध रुरुधाममा कालिगण्डकी स्नान र भगवान ऋषिकेशलगायतका मठ मन्दिरमा माघे संक्रान्ति मेलाको तयारी पूरा भएको रुरु फ्रेण्डस क्लब रिडीले जनाएको छ । यो वर्ष मेला भर्न आउने दर्शनार्थीको भीड बढ्न सक्ने अनुमान आयोजकले गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमको रूपमा रहेको रुरु क्षेत्रमा स्नान गर्न तथा रमाइलो मेला हेर्न विभिन्न स्थानबाट तीर्थालुहरू आउने गर्दछन् ।
रिडीमा तीनमुखे पुल निर्माण सम्पन्न भएपछिको मेलाको आकर्षण अझै बढ्ने अनुमान गरिएको छ । अनादिकालदेखि रिडीमा लाग्ने माघे सक्रान्ति मेलामा विगतमा कोभिडका कारण खासै रौनकता देखिएको थिएन तर, यो वर्ष माघे सक्रान्ति मेलामा दर्शनार्थीको राम्रै आगमन हुने देखिएको रुरु फ्रेण्ड्स क्लब रिडीका सचिव प्रेम भण्डारी बताउनुभयो । धार्मिक र साँस्कृतिक रुरु क्षेत्रको रुरुधामलाई धार्मिक पर्यटनसँग जोड्न परम्परागत रूपमा चल्दै आएको माघे सक्रान्ति मेलाको तयारी सुरुसमेत भइसकेको छ । रिडीमा रुरु फ्रेण्ड्स क्लब र एफसी क्लब रिडी बजारको संयुक्त आयोजनामा साँस्कृतिक कार्यक्रमसहित, बालउधान, कृषिमेला प्रदर्शनी हस्तकलाका सामानको प्रदर्शनीसहित मेलाको भव्य तयारी गरेको रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष शोभित थापाले बताउनुभयो ।
“मेलाको आम्दानीले रुरुधामलाई धार्मिक पर्यटकीय तथा सामाजिक कार्यको विकास गर्ने हाम्रो उद्देश्य छ,” अध्यक्ष थापाले भन्नुभयो । पाल्पा गुल्मी क्षेत्रमा मेलाको तयारी छ भने स्याङ्जा क्षेत्रमा भलिबल प्रतियोगितासहितको मेला लाग्ने भएकाले यो वर्ष गुल्मी स्याङ्जा र पाल्पामा लाग्ने विविध मनोरन्जनसहितको अवलोकन गर्न रुरुधाममा निर्माण सम्पन्न भएको तीनमुखे पुलले विशेष महत्व राख्ने छ ।