2

Logo २०८३ बैशाख १३ आइतबार
पुष २२ र २३ गते महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण गर्दै रामपुर नगरपालिका

पुष २२ र २३ गते महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण गर्दै रामपुर नगरपालिका


Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस २० २०८०
1.6K

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले नगरपालिकाका महिलाहरुमा पाठेघरको मुखमा हुनसक्ने क्यान्सर रोग परिक्षण गर्ने भएको छ । यही पुष २२ र २३ गते रामपुर नगरपालिकाले नगरका विभिन्न वडाहरुमा कार्यक्रम गरि पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण गर्ने भएको हो ।

पहिलेको भन्दा सहज विधि एचपिभी डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि नगरपालिकाले सबै वडामा तथ्याङ्क संकलन गरेको छ । नगरका ३५ बर्ष उमेरदेखि ४० बर्ष उमेर समुहका महिलाहरुको तथ्याङ्क लिइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकाले २ दिन कार्यक्रम गर्ने जनाएको छ । जस अन्तर्गत रामपुर वडा नम्बर १,२, ३, ७, ८ र १० मा पुष २२ गते सम्बन्धित वडाको स्वास्थ्य चौकीमा र अघिल्लो दिन छुटेका साथै वडा नम्बर ४, ५ र ६ को लागि पुष २३ गते रामपुर अस्पतालमा कार्यक्रम राखिएको घिमिरेले जानकरी दिनुभयो ।
महिला स्वास्थ्य स्वयंमसेविकाले वडागत रुपमा लिएको तथ्यांकको आधारमा सो उमेर समुहका वडा नम्बर १ मा ८० जना, २ मा ७० जना, ३ मा १३८जना, ४ मा ११९ जना, ५ मा १९० जना, ६ मा १२६ जना, ७ मा २४१ जना, ८ मा २८० जना, वडा नम्बर ९ मा ९९ जना र १० नम्बर वडामा १२० जना गरि कुल १४६३ जना महिलाको तथ्यांक संकलन भएको रामपुर नगरपालिका स्वास्थ्य शाखाका बरिष्ठ नर्सिङ निरिक्षक पुनम धितालले बताउनुभयो ।

आगामी केही बर्ष भित्र महिलाको पाठेघरमा हुनसक्ने क्यासरको परिक्षण पनि यस एचपीभी डीएनए विधिबाट जान्न सकिने उहाँले बताउनुभयो । पाठेघरको मुखमा हुनसक्ने क्यान्सरको पुर्व परिक्षणको लागि नेपाल सरकारले चलाएको अभियानमा पाल्पाबाट रामपुुर नगरपालिका र रम्भा गाउँपालिका परेको छ । जहाँ यसअघिको भिआईए विधिभन्दा एचपिभी डिएनए विधि सजिलो विधि हो । भिआईएमा पाठेघरको मुखमा नै स्वास्थ्यकर्मीले परिक्षण गर्नुपर्ने थियो भने एचपिभी डिएनए विधिमा स्वंयम् सम्बन्धित व्यक्तिले नै पाठेघरको स्वाव लिएर किटमा राखेर जाच गर्न सक्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको आर्थिक तथा प्राविधिक सहयोग र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा कार्यक्रम चलाउन लागिएको हो । अन्य क्यान्सरको तुलनामा पाठेघरको क्यान्सरको जोखिम धेरै भएपनि समय मै स्क्रिनिङ नहुँदा अबस्था जटिल हुन जान्थ्यो । स्क्रिनिङ गरी पहिचान गर्न सके उपचार सफल हुने भएकोले नेपाल सरकारले एचपिभी डिएनए परिक्षण अभियान चलाएको हो ।
नेपालमा ११ प्रतिशत महिलामा पाठेघरको मुखको क्यान्सर पहिचान भएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि महिलाको पाठेघरको मुखमा ‘स्क्रिनिङ’ गरिएको हो ।

सरकारले सन् २०३० सम्म ९० प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको ‘स्क्रिनिङ’ गर्ने लक्ष्य लिएको छ । उहाँका अनुसार पाठेघरको मुखको क्यान्सरबाट विश्वमा दैनिक चार जनाको ज्यान जाने गरेको छ । सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलनका लागि ९० प्रतिशत महिलालाई १५ वर्षको उमेरभित्र एचपीभी खोप लगाउने, ७० प्रतिशत महिलाहरुको ३५ वर्ष उमेरमा एक पटक खोप लगाउने र फेरि ४५ वर्ष उमेरमा ‘स्क्रिनिङ’ गर्ने तथा ९० प्रतिशत महिलाको पाठेघरको मुखको रोगको पहिचान गरेर उपचार गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य पुरा गर्न सक्ने हो भने नेपालमा सन् २०३० सम्ममा ३० प्रतिशत मृत्युदर घटाउन सकिने जनाइएको छ ।

मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम निर्देशिका २०७९ अनुसार ३० वर्षभन्दा माथिका सामान्य महिलाको ‘स्क्रिनिङ’ र एचआइभी सङ्क्रमित भएका महिलाको २५ वर्ष उमेरदेखि नै पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ’ गर्ने लक्ष्य लिएको छ । निर्देशिका अनुसार सामान्य महिलाको हरेक पाँच वर्षमा र एचआइभी सङ्क्रमित भएका महिलाको हरेक तीन वर्षमा ‘स्क्रिनिङ’ गरिने छ । शुरुमा पाठेघरको मुखको क्यान्सरको लक्षण नदेखिने र पछि क्यान्सर बढेपछि मात्र थाहा पाउने अहिलेको अबस्था छ । महिनावारी नभएको बेला रगत बग्ने, यौन अङ्गबाट रगतसँगै सेतो पानी आउने, यौन सम्पर्कपछि रगत बग्नेजस्ता पाठेघरको मुखमा क्यान्सर भएपछि देखिने लक्षण हो ।

‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी)ले शरीरमा आक्रमण गरेको १५ देखि २० वर्षपछि पाठेघरको मुखको क्यान्सर लक्षण अहिले देखापर्नेछ । ‘एचपीभी भाइरसलाई हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले भगाउने गर्दछ,’। ‘भाइरसका कारण २० प्रतिशत महिलालाई क्यान्सर हुने सम्भावना हुन्छ ।’ एचपीभी भाइरसले ९९ प्रतिशत र असुरक्षित यौनसम्पर्क, धुम्रपान तथा सानै उमेरमा विवाह गर्नाले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने क्यान्सर रोग बिशेषज्ञको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com