पुष चौथो हप्तादेखि पाल्पाका जेष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य उपचार
पाल्पा ।
पाल्पा जिल्लामा जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाच तथा उपचार गरिने भएको छ । जिल्लाको १० स्थानीय तहमा रहेका ज्येष्ठ नागरिकहरुको घरमै पुगेर उपचार गर्ने गरि तयारी भएको छ ।
लुम्बिनी प्रदेश सरकारको योजना, स्वास्थ्य कार्यालय पाल्पाको समन्वय र स्थानीय सरकारको नेतृत्वमा जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य शाखाले घरदैलोमा नै स्वास्थ्यकर्मी खटाएर उपचार सेवा दिन थालेको हो । लुम्बिनी प्रदेशको ज्येष्ठ तथा अति “अशक्त नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि २०८०” मा व्यवस्था भए अनुसार ८० बर्ष माथिका ज्येष्ठ र अति अशक्त नागरिकको घर–घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिनुभयो । यसको लागि स्थानीय तहमा घरदैलो सेवा गर्ने गरि प्रदेश सरकारबाट १८ लाख बजेट आएको छ । अन्य आवश्यक खर्च स्थानीय सरकारको लागत साझेदारीमा कार्यक्रम हुनेछ ।
सरोकारवालाहरु संगको संयुक्त बैठकले १० स्थानीय तहका ८१ वटै वडामा पौष महिनाको चौथो हप्तादेखि माघको दोस्रो हप्तासम्म ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त नागरिकहरुले घरमै उपचार पाउने गरी कार्यक्रमको तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा गत वर्ष ७० बर्ष भन्दा माथिका ६ हजार ५ सय ९६ जना ज्येष्ठ नागरिकहरुको घर–घरमै पुगेर स्थानीय सरकारले स्वास्थ्य उपचार दिँदा स्थानीयवासी खुसी भएका थिए ।
अहिले पाल्पाका दुई नगरपालिका र ८ गाउँपालिकामा गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिक ३ हजार ८ सय ९ रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अति अशक्त अन्र्तगत अपांगता भएका व्यक्ति जसले क र ख वर्गको कार्ड प्राप्त गरेका छन उनीहरुमा क वर्गका अपांगता भएका व्यक्ति ५ सय ८९ र ख वर्गका अपांगता भएका व्यक्ति १ हजार ५ सय ११ गरी कुल ५ हजार ८ सय ५६ जनाले घरमै स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने उहाँको भनाइ छ ।