2

Logo २०८३ बैशाख १४ सोमबार
९ महिने शिशु सहित आगोलागीबाट सर्वस्व गुमाएका पल्ली परिबारलाई पाल्पाली समाज युएईको सहयोग

९ महिने शिशु सहित आगोलागीबाट सर्वस्व गुमाएका पल्ली परिबारलाई पाल्पाली समाज युएईको सहयोग


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस १७ २०८०
5.2K

पाल्पा ।

घरमा आगोलागीबाट धनजनको क्षति व्यहोरेका निस्दी ३ झिरुवासका पल्ली परिवारलाई पाल्पाली समाज युएईले राहत सहयोग गरेको छ । गत पुष ७ गते मध्याह्मा घरमा साना बालबालिका मात्र भएको समयमा एक्कासी घरमा आगोलागी हुँदा श्याम बहादुर पल्लीको खरले छाएको ओसारी सहितको घर जलेको थियो ।

घरमा आगोलागी हुँदा पिढीको झलुङामा सुतेकी श्याम बहादुरका ९ महिने नातिनी दिप्सनाको जलेर ज्यान गएको थियो । घरमा साना २ बच्चालाई बहिनी हेर्न लगाएर सबै जना बारीमा काम गर्न गएको बेला घरमा आगो सल्किएको थियो । बच्चाहरुले बारीमा रहेका आमा बुवालाई बोलाएर आउदा ९ महिने शिशु सहित घरगोठ खरानी भइसकेको थियो । आगोलागीबाट अन्नपात, लत्ताकपडा नष्ट पल्ली परिवारलाई पाल्पाली समाज युएईमा आबद्ध पाल्पालीहरुले संकलन गरेको नगद ९० हजार र गएको टोलीको नगद १० हजार गरि नगद १ लाख रुपँया रकम हस्तान्तरण गरिएको हो ।

युएईमा रहेका पाल्पाली दाजुभाई दिदीबहिनीले दुःखमा परेका पल्ली परिवारको दैनिक गुजारा चलाउन सहज होस् भनेर पाल्पाली नेपालीहरुबीच संकलन भएको रकम रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा र पाल्पाली समाज युएईका उपाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्दै नगरप्रमुख थापाले विपदमा परेका नेपालीलाई अर्काे नेपालीले गर्ने सहयोग र हौसला बढाउन गर्ने प्रयत्न यस्तो बेला ठुलो रहने बताउनुभयो । दुःखको बेलामा सहयोग गर्नु मानवीय धर्म भएको उल्लेख गर्दै थापाले छिमेकी पालिकाको हिसाबले प्रक्रिया मिलाएर आए नगरपालिका पनि सहयोग गर्न सक्ने बताउनुभयो । पाल्पाली समाज युएई स्थापनाकालदेखि नै सहयोग सहकार्य गर्दै आएको स्मरण गर्दै थापाले समाजले गरेको सहयोग प्रति समाजका अध्यक्ष ओम कुमारी खाँण र पाल्पाली समाज युएईलाई धन्यवाद व्यक्त गर्नुभयो ।

पाल्पाली समाज युएईका उपाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले सन् २०१४ मा स्थापना भएको पाल्पाली समाजले दुःख र समस्यामा परेका नेपाली र पाल्पालीहरुको हितमा सदैव साथ दिएको बताउदै नेपालमा भुकम्प,कोभिडको समयमा राहत, रोजगारको सिलसिलामा युएई पुगेका पाल्पालीलाई समस्या पर्दा सहकार्य र ज्यान गएको खण्डमा घरपरिवारलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालबाट आगोलागीको घटना थाहा पाए लगत्तै समाजले निर्णय गरेर दुःखद् बेलामा साथ सहयोग चाहिने भएकाले विदेशिएका पाल्पाली पनि आफ्नै साथमा छन् भन्ने ध्ययले सहयोग गरेको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रवत्ता तथा वडा नम्बर १ का वडाध्यक्ष कपिल बहादुर खाँण, नेपाली कागं्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, निस्दी ३ झिरुवासका वडा सदस्य यम प्रसाद झेडी, नेपाली काग्रेंसका वडा सभापति धन बहादुर खण्डलुक, पुर्व वडा सभापति पदम बहादुर खण्डलुक, रामपुर आधारभूत माविका प्रध्यानध्यापक बिजय शर्मा अर्यालले दुःखमा पाल्पाली समाज युएईले गरेको काम र सहयोगको प्रशंसा गर्दै दुःखको बेला सबै नेपाली एकजुट भएको सन्देश यो सहकार्य र सहयोगले गरेको बताउनुभयो ।  घरमा छोराछोरीको रमाइलो चहलपहल छोडेर बारीमा गएको एकैछिनमा घर उजाडिएको घटनाले बेला–बेला पिरोल्ने गरेको बताउदै सहयोग गर्ने सबैलाई हेमसरी पल्लीले धन्यवाद दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन पत्रकार सीता डोेटेलले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com