रामपुर नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री
पाल्पा ।
रामपुर नगरपालिकाले किसानहरुलाई अनुदानमा कृषिका विविध सामग्री वितरण गरेको छ । किसानको मागका आधारमा नगरपालिकाले उनीहरुलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।
मागमा आधारित कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम अन्तर्गत नगरपालिका विभिन्न वडाका ५० जना कृषक र कृषि समुहलाई ६६ वटा प्लाष्टिक टनेल र १६ लिटरको ५० वटा प्लाष्टिक स्प्रेयर वितरण गरेको हो । कृषि सामग्री वितरण गर्नुहुर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उच्चतम प्रविधिको प्रयोग गरि कृषि उत्पादनमा बृद्धि गर्न किसानलाई आग्रह गर्नुभयो । उहाँले कृषकको आवश्यकता र माग अनुसार रामपुर नगरपालिकाले प्राविधिक र अन्य सामग्री अनुदान स्वरुप सहयोग गरिरहेको बताउदै आत्मनिर्भर मात्र नभई व्यवसायिक हुदै यस भेगलाई तरकारी पु¥याउने गरि उत्पादन गर्न अनुरोध गर्नुभयो ।
नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरपालिकाले वितरण गरेको कृषि सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
नगरपालिकाले कृषकहरुलाई ५ हजार रुपैयाँ मूल्य बराबरको प्लाष्टिक टनेल २ हजार ५ सय रुपैयाँमा र २ हजार २ सय रुपैयाँको प्लाष्टिक स्प्रेयर १ हजार १ सय रुपैयाँमा उपलब्ध गराएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।
कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले किसानलाई दिइएको सामानको सही सदुपयोग गरि उत्पादन बढाउन आग्रह गर्नुभयो ।