संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा
काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणको लागि आइपुग्नु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा चारदिने भ्रमणमा शनिबार राति नेपाल आउनुभएका गुटेरेसले आज उच्चस्तरीय भेट गर्नुहुनेछ ।
भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुका साथै पूर्वप्रधानमन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
गुटेरेसले कात्तिक १४ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । उहाँ काठमाडौँ उपत्यकाका पुरातात्विक क्षेत्र, लुम्बिनी, पोखरा, अन्नपूर्ण आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिवलाई परराष्ट्र मन्त्री एनपि साउदले स्वागत गर्नुभएको थियो ।