2

Logo २०८३ बैशाख १५ मंगलबार
आज बिजयादशमी, टिकाको साइत कति बेला उपयुक्त

आज बिजयादशमी, टिकाको साइत कति बेला उपयुक्त


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक ७ २०८०
561

काठमाडौं ।

आज नेपालीहरुको सबै भन्दा ठूलो चार्ड बिजयादशमी । बिजयादशमीमा टाढा भएका आफन्तपनि परिवारजन अभिभावकको समिपमा आएर टीका थाप्ने आशिर्वाद लिने चलन छ । दशैं आफैंमा शुभ दिन हो । दशैंको बिहानदेखि दिनभर र अपरान्हसम्म साइत हुन्छ । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन भन्ने बिश्वास छ। बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरेर कलशको जलले अभिषेक गरेर आफन्तकोमा टीका लगाउन जाने चलन छ । दशैंमा कतिबेला टीका लगाउने भनेर कुनै अलमल हुनु पर्दैन ।

तर पनि साइत नै चाहिनेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले ११ बजेर २ मिनेटमा उत्तम साइत भनेर तय गरेको छ । त्यसभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ, १० बजेट ३७ मिनेटमा दुर्गा विसर्जन गर्नु उत्तम समय छ ।

दुर्गा विसर्जनपछि मात्रै टीका

हामीले घटस्थापनादेखि दशमीसम्म दुर्गाको नित्य पूजा गरेका हुन्छौं । त्यसका आ–आफ्नै प्रक्रिया छन् । शुरुमा घटस्थापना गरिन्छ, सप्तमीका दिन विभिन्न प्रकारका वनस्पती र फलफूलहरु सहित फूलपाती भित्र्याइन्छ । नवदुर्गाको पूजा हुन्छ, हातहतियार अनि यन्त्रहरुको पूजा गरिन्छ । महानवमीका दिन हवन गरिन्छ ।

विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरेपछि दशैंका दिन नित्य पूजा गरेर आरती पुष्पाञ्जली गरेर दुर्गा विसर्जन गरिन्छ । दुर्गा विसर्जन पश्चात कलश उठाएर त्यहाँको जल घरका विभिन्न ठाउँमा छर्ने र शान्ति, प्रगति र उन्नतीको कामना गरिन्छ ।

दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ । सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने भन्ने परम्परा छ । त्यसपछि हामी मान्यजनबाट टीका लगाउँछौं ।

दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । दैलामाथि टीका लगाउने गरिन्छ । हाम्रो घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ । त्यसपछि मात्र अन्य मान्यजनबाट टीका लगाउने चलन छ ।

कता फर्किएर टीका लगाउने ?

परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो । दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन छैन ।

साइत नै खोजेर उपयुक्त समयमा टीका लगाऊँ भन्नेका लागि ११ बजेर २ मिनेटमा उपयुक्त समय छ । कसैलाई हतारो भएमा, टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममा टीका लगाउने चलन छ । पहिलेदेखि नै दशैंको दिन जतिबेला पनि टीका लगाए हुन्छ भन्ने चलन छ ।

बिहान घाम झुल्केपछि विधिविधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा पर्दैन । त्यसैले टीकाको साइतको दुविधा नपाले हुन्छ ।

अहिले त कतिपयहरुलाई दशैंको दिन ढिलोगरी नेपाल आउन पाउने बाध्यता पनि बन्न सक्छ । त्यस्तो अवस्थामा समेत साइत गुज्रिएकाले दुविधा पाल्नु पर्दैन । जतिबेला भएपनि मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्नु उपयुक्त हुन्छ ।

टीका/जमराको महत्व

दशैंको टीका र जमरा दुर्गाको प्रसाद हो । पुर्खाको कीर्तिलाई कायम राख्न कृपा मिलोस् भनेर मान्यजन र ठूलाबडाबाट आशिर्वादका साथ टीका जमरा लगाइदिने गरिन्छ । कुल परम्पराको वैभव कायम रहोस् भनेर आशिर्वाद दिइन्छ । यसै सिलसिलामा इष्टजनसँग भेटघाट, भलाकुसारी लगायतका धार्मिक, सांस्कृतिक र सामाजिक आयामहरु त छँदैछन् ।

दशैंमा टीकाको जस्तै जमराको पनि आफ्नै विशेष महत्व छ । दुर्गास्थापना गरेको ठाउँमा जौ उमारेर जमरा तयार गरी त्यसलाई टीकापछि प्रसादको रुपमा ग्रहण गरिन्छ । जौ विभिन्न प्रकारको औषधीय तत्वले युक्त वनस्पती हो । ऋषीमुनीहरुले जौलाई अनेक धार्मिक काममा प्रयोग गरे । पूजादेखि पितृकार्यमा जौको प्रयोग हुन्छ । जमराको विभिन्न आयुर्वेदिक प्रयोग पनि हुन्छ । सायद औषधीय गुणका कारण जमराका लागि जौको प्रयोग गरिन्छ ।

नेपाली समाजको परम्परा आफ्नै विशिष्ठता र विशेषतायुक्त छ । ठाउँअनुसार आफ्नै खालका परम्पराहरु छन् । पूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छँदैछ । पश्चिम नेपालका कैयौ ठाउँहरुमा दुर्गा विसर्जन गरेको एक दिनमात्रै टीका ग्रहण गरौं भन्ने चलन बस्यो ।

आ–आफ्नै परिवेश अनुसार चलेका चलनलाई अन्यथा लिने कुरा भएन । एकदिन लगाउने होस् वा पाँचदिने लगाउने चलन होस्, दुवैका आ–आफ्ना विशेषता छन् । पछिल्लो समय त यी चलनहरु एक आपसमा सम्मिश्रण हुँदै गइरहेका छन् ।

                                             -प्रा.डा. देवमणि भट्टराई

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com