पाल्पामा डेंगी रोगको रोकथामका लागि सरोकारवाला संग अन्तरक्रिया
पाल्पा ।
पाल्पा जिल्लामा डेंगी रोगले ज्यान समेत गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पाल्पाले स्थानीयतहका जनप्रतिनिधिसंग अन्तरक्रिया गरेको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर बर्न डिजिज शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले डेंगीको अवस्था, जोखिम क्षेत्र, सचेत हुनुपर्ने विषयहरु, रोकथामका उपाय, डेंगी राेग लागेमा अपनाउनु पर्ने सावधानी लगायतका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरिले सबै सचेत भएर योजना बनाएर काम गरे मात्र डेंगी रोग नियन्त्रण गर्न सकिने बताउनुभयो । स्वास्थ्य कार्यालय पाल्पाकाे सहजीकरणमा भएको कार्यक्रममा युनाईटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज लगाएत अन्य स्वास्थ्य सराेकार राख्ने संघ संस्थाका प्रतिनिधीहरुले डेंगी रोग नियन्त्रणका विषयमा आ-आफ्नो धारणा सहितको सुझाव दिनुभएकाे थियोे ।
त्यस्तै नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानाले गाउँगाउँमा रहेका स्वास्थ्य संस्थाहरूका स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर डेंगी राेगबारेमा कार्यक्रम बनाएर सचेतना फैलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पाल्पाका स्थानीयतहहरूका प्रमुख तथा प्रतिनिधी, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य कार्यालय पाल्पाका कर्मचारी र पत्रकारहरूको सहभागिता रहेको थियोे ।