जिल्ला प्रहरी कार्यालय पाल्पाको नागरिक सुनुवाई रामपुरमा
पाल्पा ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाको पुर्व रामपुर नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम गरेको छ ।
प्रहरी कार्यालयबाट दिईने सेवा र आम नागरिकको गुनासो बुझ्न प्रहरीले नागरिक सुनुवाईको आयोजना गरेको हो ।
समुदाय साझेदारी कार्यक्रमलाई निरन्तरता दिईरहेको प्रहरीले नागरिक र प्रहरी विचको सम्बन्ध थप सुमधुर बनाउन र साथै कार्यालय बाट प्रवाह भएका सेवा चुस्त बनाउन र जिल्लाको अवस्थाको बारेमा जानकारी दिन सुनुवाई गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक शर्माले कम जनशक्तिका बाबझुद पनि सेवामा तल्लिन रहेको बताउनुभयो । उहाँले पछिल्लो समय जिल्लामा दुर्घटनामा कमी आएको बताउदै आत्महत्या र डुवेर मर्नेको संख्या डरलाग्दो हुँदा घटाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ । शर्माले शान्ति सुरक्षा कायम गर्नुमा नागरिकको महत्वपूर्ण साथ र सहयोगको आवश्यक रहने बताउँदै जिल्लामा हाल ५ सय ८५ नागरिक बराबर १ जना प्रहरीले सेवा दिनु पर्ने अवस्था रहेको बताउनुभयो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बढ्दो शहरीकरण र लापरबाहीले बजारमा चुनौती बढेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले न्यायिक समितिले प्रहरी संग सहकार्य गरेर कार्यसम्पादन गर्नमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले प्रहरीले सम्पादन गरेका कार्य, जिल्लाको सवारी दुर्घटना, अपराधिक घटना, फौजदारी मुद्दा लगाएतका विषयमा तथ्याङ्क सहित प्रस्तुत गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले प्रहरी दरबन्दी थप गरि सेवा बिस्तार गर्नुपर्ने, रातको समयमा गस्ती बढाउनु पर्ने, सुचना प्रदान गर्ने स्रोतलाई गोप्य राख्नु पर्ने, सवारी जाँचमा थप कडाई गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, यातायात व्यवसायी, सञ्चारकर्मी, महिला समूह, संघ संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले गर्नु भएको हो ।