यसबर्षको दशै र तिहारको साइत
काठमाडौं ।
नेपालीहरुको महान् चाड दशैको यस वर्षको टीकाको साइत कात्तिक ७ गते विहान ११ बजेर २ मिनेटमा उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विज्ञप्ति जारी गर्दै यो वर्षको दशैं र तिहारको उत्तम साइत सार्वजनिक गरेको हो ।
जमरा राख्ने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंको शुभसाइत समितिले सार्वजनिक गरेको छ । जसअनुसार घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने उल्लेख गर्नुभयो ।
कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ । गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष ढिलो गरि असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ शुरु हुँदैछ ।
कात्तिक पहिलो साताको अन्तिम दिन ७ गते बडादसैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।