सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ को मृत्यु
सल्यान ।
सल्यानमा जिप दुर्घटना हुुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्।
रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।
जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ। मृतक दुबै जना पुरुष हुन्। उनीहरूको सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन्। घाइतेको कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो। तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका प्रहरीको छ ।