पाल्पाको रामपुर नगरपालिका वडा नं. १ शालिग्राम क्षेत्र, टापुधाममा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । “अखण्ड नेपाल निर्माणको संकल्प” सहित ३ करोड शिवलिङ्ग स्थापना गर्ने अभियानमा लाग्नुभएका धार्मिक अभियन्ता योगिनी श्री उदयनाथ (शान्ति राज्य लक्ष्मी शाह) र योगी अक्षर ब्रम्ह (अग्नि शम्शेर प्रताप शाह)को अग्रसरतामा वैदिक विधि अनुसार शिवलिङ्ग स्थापना गरिएको हो ।
टापुधाममा यसअघि शिव पञ्चायन मन्दिर तथा शालिग्राम संग्राहालय स्थापना गरिएको छ । जहाँ मुक्तिनाथको शैलीमा मन्दिर निर्माण गर्ने गरि अघि बढेको छ ।
संकल्प अनुसार मंगलबार माटोबाट निर्मित १२ लाख १२ हजार ८ सय ८८ शिवलिङ्ग ८ फिट लम्बाई, ८ फिट चौडाई र ८ फिट गहिराईको खाल्डोमा राखेर माथिल्लो भागमा शिलाबाट बनेको पञ्चमुखी शिवलिङ्ग राखिएको छ ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नगरको धार्मिक पर्यटनमा टापुधामको विशेष महत्व रहेको भन्दै यसको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि नगरपालिकले सहयोग गर्ने बताउनुभयो ।”कालीगण्डकी हाम्रो सभ्यता हो, नदीको संरक्षणका लागि जनप्रतिनिधि तथा सरोकारवालाहरु लागिरहेका छौ थापाले भन्नुभयो ।
सांस्कृतिक झाँकी भजनकृतन सहित भएको कार्यक्रममा गोरक्ष जागरण अभियानका संयोजक गुरुदेव बलभद्र नाथजी महाराज, योगिनी श्री उदयनाथ (शान्ति राज्य लक्ष्मी शाह) र योगी अक्षर ब्रम्ह (अग्नि शम्शेर प्रताप शाह)ले धार्मिक प्रवचन दिनु भएको थियो । शिवलिङ्ग स्थापना एवं रोट महोत्सवका संयोजक तथा रामपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले टापुधाममा शिव लिङ्ग स्थापना संगै भगवान शिवको प्रसादको रुपमा रहेको विशेष विधि अनुसार तयार गरिने रोट मन्दिरमा चढाउने व्यवस्था गरिने बताउनुभयो । साथै खाँणले गुरुयोजना बनाएर अघि बढ्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन वडा नं. १ का सचिव तारानाथ पोखरेलले गर्नु भएको हो ।
योगी नरहरीनाथकी प्रिय चेली नरदेवी नाथ देखि गोरक्ष जागरण अभियानका संयोजक गुरुदेव बलभद्र नाथजी महाराज र डाक्टर योगी दयानाथजीको नियमित साधना केन्द्रको रुपमा रहेको पवित्र कालीगण्डकी तटमा अवस्थित टापुधाममा धार्मिक पर्यटन विकासको लागि शिवलिङ्ग स्थापना गरिएको हो । योगी अक्षर ब्रम्ह अग्नि शम्शेर प्रताप शाहले नेपाललाई अखण्ड राख्नु पर्छ भन्ने संकल्पका साथ विगत ४ वर्ष देखि विभिन्न स्थानमा ३ करोड शिवलिङ्ग स्थापना गर्ने अभियान सञ्चालन गर्दै आईरहेको जानकारी दिनुभयो ।