आँखा पाक्ने रोगको संक्रमण बढ्दै
पाल्पा ।
समस्याको रूपमा फैलिएको आँखा पाक्ने रोगको संक्रमणले धेरै जिल्लाका नागरिक प्रभावित भएका छन् ।
धेरै जिल्लामा विद्यालय बन्द गर्नुपर्ने स्थितिमा पुगेको छ । पाल्पा जिल्लामा पछिल्लो दुई सातादेखि दैनिकरूपमा आँखाका बिरामीहरू बढेका छन् । संक्रमित बिरामीहरूको संख्या बढेपछि लायन्स लाकौल आँखा अस्पतालले छुट्टै (रेड आई क्लिनिक) सञ्चालन गर्दै क्लिनिकबाट बिरामीको परीक्षण र उपचार गर्न सुरु गरेको छ ।
क्लिनिकबाट हालसम्म ४ सय भन्दा बढि विरामीको उपचार गरिएको अस्पतालका सूचना अधिकारी जीवनाथ गैरेले बताउनुभयो । संक्रमित हुनेमा सबै उमेर समूहका मानिसहरु रहेका छन् ।
सदरमुकाम तानसेनसंगै, रामपुर, रैनादेवी छहरा, प्रभासलगायत जिल्लाभरी नै आँखा पाक्ने रोगका संक्रमितहरू बढिरहेकाे आँखा अस्पतालले जानकारी दिएको हाे । यसैबीच आँखा पाक्ने रोगको संक्रमण दैनिक रुपमा बढेसंगै उपचारका लागि औषधिको समेत अभाव सृजना हुन लागेको लायन्स लाकौल आँखा अस्पतालले जनाएको छ ।
पाल्पामा पाल्पा अस्पताल र रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्रमा पनि दैनिक रुपमा यस्ता रोगका बिरामीहरु बढेको अस्पतालहरुले जनाएको छ । यो रोगको संक्रमणबाट आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने, कचेरा आउने, परेला सुन्निने, आँखा बिझाउने, दुख्ने, उज्यालोमा हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने जस्ता लक्षण देखिने चिकित्सकहरूको भनाइ रहेको छ।
यस्तो रोगको संक्रमण आँखाबाट निस्किने आँसु तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले आँखामा पुग्दा हुने भएकोले सङ्क्रमित व्यक्तिको संम्पर्कमा नरहने तथा नियमित सरसफाई र साबुनपानीले हात धुनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् ।
