रम्भा १ मा वडाध्यक्षको वडाबासीसँग सेवक स्नेहमिलन तथा सुझाब सङ्कलनको आयोजना
पाल्पा ।
शासकको रुपमा नभई नागरिकको सेवामा सेवकको रुपमा उभिने रम्भा गाउँपालिका १ का वडाध्यक्षले आर्थिक बर्ष सकिएसँगै जनतासँग स्नेहमिलन तथा समिक्षा र सुझाबको लागि कार्यक्रमको आयोजना गर्नुभएको छ ।
जनताको मतले निर्वाचित भएपश्चात् जनताकै कामलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउदै आउनुभएका रम्भा १ का वडाध्यक्ष ईश्वरी काफ्लेले वडाबासीको सेवाकै लागि जनप्रतिनिधिको रुपमा आएकोले जनताकै कामलाई प्रमुख ठानेको बताउनुभयो । कार्यालय सेवा सँगै वडाबासीलाई सहज र सरल सेवा दिन घरदैलोबाटै विभिन्न सेवा दिदै आउनुभएको छ । जनप्रतिनिधि राणाकालका जस्तो उच्च ओहोदाको सम्झने परिपाटी नेपालमा छ तर जनताले मत दिएर जितेर आएपछि जनताकै कामदार भएकोले सेवा गर्ने सौभाग्य ठानेर सेवकको रुपमा सधैव प्रस्तुत भएको छु काफ्लेले भन्नुभयो ।
वडामा रचनात्मक कामलाई अगाडी बढाउदै आउनुभएका काफ्लेले आउदो साउन ७ गते आइतबार जनसमुदायको खबरदारी, सेवकको जिम्मेवारी अन्तर्गत वडाबासीसँग सामिप्यतामा अलौकिक स्नेहमिलन तथा सेवकको सेवा सुविधा हस्तान्तरण गर्ने तयारी गर्नुभएको छ । वडाअध्यक्षको उमेद्वार भएदेखि नै नागरिकको करबाट आउने सेवा सुविधा अर्थात् तलब भत्ता नलिएरै काम गर्ने संकल्प लिनुभएका काफ्लले हरेक बर्ष आफुले सेवा सुिवधाबापत पाएको रकम विभिन्न क्षेत्रमा दिदै आउनुभएको छ ।
स्नेहमिलन तथा समिक्षा कार्यक्रममा सेवकको सेवा सुविधा हस्तान्तरण सहित गत आर्थिक बर्षमा वडाले गरेका महत्वपुर्ण कार्य तथा वडामा भएगरेका कार्यहरुको प्रस्तुति हुनेछ । गत आर्थिक बर्षको आयव्यय सार्वजनिक गरिनेछ । वडाले काम, गुणस्तर र प्रतिफलको लागि उत्कृष्ट उपभोक्ता समिति सम्मान, उत्कृष्ट कर्मचारी सम्मान एंव वडाबासीको सुझाब सङ्कलनका साथै साउनदेखि शुरु भएको आर्थिक बर्षको सेवा सुविधाका बिषयमा जानकारी गराइने वडाध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।
