लुम्बिनी प्रदेशका पुर्व मन्त्री विजय यादव पक्राउ
लुम्बिनी ।
लुम्बिनी प्रदेशका पुर्व मन्त्री विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ। बांकेको डुडुवा गाउँपालिका १ होलियाबाट यादवलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ।
यादव विरुद्ध जिल्ला अदालत रुपन्देहीमा बैंकिङ कसुर मुद्धा दर्ता भएको थियो। सोहि मुद्धामा अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेको रुपन्देही प्रहरीको सोहि पुर्जीका आधारमा यादवलाई पक्राउ गरेको हो ।
बांकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक नारायण डांगीका अनुसार पक्राउ परेका यादवलाई जिल्ला अदालत रुपन्देही मार्फत जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाईएको छ।
रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले यादवलाई सोमबार कार्यालयमा बुझाईएको जानकारी दिनुभयो। ‘बांके प्रहरीले पक्राउ गरी आज विहान मात्रै जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुझाएको हो,’ अर्यालले भन्नुभयो ।
नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादव पछि टिकट नदिएको झोंकमा पार्टी परिवर्तन गर्दै आएका थिए। २०७४ सालको निर्वाचनमा कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरि बांके क्षेत्र नं. २ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई मन्त्री समेत भएका थिए।
शंकर पोखरेल नेतृत्वको पछिल्लो सरकारको पालामा पार्टीको निर्णय विपरित एमाले सरकारमा सहभागी भएको भन्दै उनलाई पार्टीले कारवाही गरेपछि एमाले प्रबेश गरेका थिए । २०७९ सालको निर्वाचनमा एनालेबाट उम्मेदवार बनेपनि निर्वाचनमा पराजित भए।