जग्गा बिवादमा देवरले गरे भाउजुको हत्या
नवलपरासी ।
नवलपरासी जिल्लाको रामग्राममा देवरले आफ्नै भाउजुको हत्या गरेका छन्। भाउजुले दाजुलाई अनावश्यक कुरा लगाएको भन्दै ति यूवाले भाउजुको हत्या गरेको प्रहरी संगको प्रारम्भिक बयानमा उनले बताएका छन्।
रामग्राम नगरपालिका–१० मंझरियाका २७ वर्षीय चन्दन चौधरीले २६ वर्षीया मिरा चौधरीको गएराति हत्या गरेका हुन्। हत्या गर्ने चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
नवलपरासी प्रहरीका अनुसार दुई भाईमध्येका चन्दन कान्छा हुन्। जेठा दाई रोजगारीका शिलशिलामा विदेशमा थिए, घटना पछि सोमबार दाइ घर आएका छन् ।
चौधरीका बाबुले २ कठ्ठा जग्गा बेचेर दाजुको विवाह गराई दिएका थिए। त्यसयता बावु संग चन्दन झगडा गर्दै आएका थिए। उनले आफ्नो पनि बिवाह गरीदिन दवाव दिएको प्रहरीको भनाई छ।
प्रहरीकाअनुसार गाउँमै बस्दै आएका चन्दनले दाजुलाई दिएजति जग्गा बेचेर आफूको विवाह गरिदिन बाबुलाई दबाब दिदैं आएका थिए। उनीहरुको अंशबण्डा भएको छैन।
जग्गा बेच्न दबाब दिएपछि बाबुले आफ्नो भागमा पर्ने अंश लिएर विवाह गर्न चन्दनलाई भन्दै आएका थिए। तर अंश नभई सगोलकै जग्गा बेच्न भन्दै दिनहुँ झगडा गर्ने गरेको प्रहरीले जनाएको छ।
जग्गाको विषयलाई लिएर सधैं बाबुसँग झगडा गर्ने गरेको भन्दै मृतक मिराले मोबाइलबाट आफ्ना पतिलाई खबर गरिरहेको अवस्था पछाडीबाट मोटरसाइकलको सकरले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले बताउनुभयो।
दाजुलाई कुरा लगाएको भन्दै उनले भाउजुको हत्या गरेको अभियुक्तलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ।
टाउकोमा गंभिर चोट लागेकी मिराको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।