डेढ महिनाकै कसरतमा आयो बोटेगाउँमा खानेपानी
पाल्पा ।
गाउँमा खानेपानी नभई काकाकुल बन्दै आएका रामपुर ३ बोटेगाउँबासीको धारामा पानी आएको छ ।
गाउँको उत्तर तर्फ कालीगण्डकी नदी नजिकबाट बहेको हेर्दै आएका उनीहरु खानेपानीको समस्या भने बर्षौ झेल्दै आएका
थिए । बोटेगाउँ गण्डकीढिक खानेपानी योजनाको धारा गाउँमै जडान गरि घर आगन नजिक पानी आएपछी बोटेगाउँ बासीमा खुशी छाएको छ । सम्झौता भएको डेढ महिनामा पानी ल्याउन सफल भएपछि लाइन बसेर पधेराबाट पानी बोक्नुपर्ने झण्झट टरेको स्थानीय लक्ष्मी बोटेले बताउनुभयो ।

रामपुर नगरपालिकाको १० लाख रुपैयाँ रकम र जनसहभागिता १ लाख ७६ हजार ८ सय ६० पैसा गरि जम्मा ११ लाख ७६ हजार ८ सय ६० पैसाको लागतमा २ ट्याकी र सामुहिक १० धारा निर्माण भएको छ।
बुधबार खानेपानी योजनाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बैशाख अन्तिम साता देखिछोटो समयावधि र थोरै बजेटबाट पनि उपभोक्ताको मेहनतले काम सम्पन्न भएर पानी खान पाउनु निकै उपलब्धी भएको बताउनुभयो । एक घर एक धारा कार्यक्रम नगरले अघि बढाएको बताउदै थापाले यसको थप व्यबस्थित र अझ सहज बनाउन नगर प्रतिबद्ध रहेको उल्लेख गर्दै समयमै योजना सक्ने उपभोक्तालाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँण र वडा नं. ३ का अध्यक्ष दामोदर पाठकले वडाबासीको सुबिधाको लागि नगरपालिका प्रयत्नशील रहेको बताउनुभयो । वडा र नगर साथै प्रदेश र केन्द्र सरकारको समन्वयमा काम गरेर नागरिकलाई सहज बनाउन लागिपरेको बताउनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, रामपुर नगरपालिका नगरपालिकाका सल्लाहकार उमनाथ अर्याल , वडा नं. ३ का पूर्व वडा अध्यक्ष दिनेश कुमार खनाल, नेपाली काँग्रेस रामपुर ३ का सभापति प्रकाश ज्ञवाली, समाजसेवी बोधराज सुवेदीले स्थानीयबासीको सक्रियतामा खानेपानी योजना सम्पन्न भएकोमा खुशी जत्ति हुन्छौ यसको संरक्षणमा र दिगोपनाका लागि उपभोक्ता उत्तिकै लाग्नुपर्ने बताउनुभयो ।
बोटेगाँउ गण्डकीढिक खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष केशव बोटेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम समितिका सदस्य तारा बहादुर बोटेको स्वागत र स्थानीय तथा शिक्षक नारायण प्रसाद खनालले सञ्चालन गर्नुभएको थियो ।

योजनाको मुल दिनुहुने निरमाया बोटे, कलेक्सन मुल ट्यान्कीलाई दिने मंगली बोटे र इनटेन्क र मिटरको लागि जग्गा सहयोग गर्नुहुने सन्त बहादुर दर्जीलाई दोसल्ला र समान्न पत्रले योजना समितिले सम्मान गरेको छ । आयोजना अन्तर्गत निस्दी खोला किनारमा मुलदेखि ६५ मिटर यता ५ हजार लिटर बराबरको रिजर्व टंकीबाट ३०० मिटर वर गाउँमा २७ हजार लिटर क्षमताको टंकीमा लिफ्टिङ गरि गाँउका १० वटा धारा मार्फत खानेपानी वितरण गरिएको छ । निस्दी खोलाबाट पानी बोकेर खाँदै आएको बोटेगाँउमा खानेपानी आए पछि स्थानीय खुशी भएका छन् । 
