पाल्पाको एक सहकारीले गैरकानुनी स्याङ्जा बिक्री गरेको मल बरामद
पाल्पा ।
पाल्पाको एक कृषि सहकारी सस्थाले स्याङ्जा वालिङ्को एक एग्रोभेटलाई बेचेको मल प्रहरीले फेला पारेको छ ।
नेपाल सरकारले किसानलाई अनुदानमा दिएको मल सहकारी मार्फत किसानलाई बितरण गर्नुपर्नेमा फरक जिल्लाको एग्रोभेटमा मल बिक्री गरेको पाइएको हो । पाल्पा रामपुर ७ स्थित हराभरा कृषि सहकारी सस्थाले वालिङ भकुण्डेको गरिमा एग्रोलाई बिक्री गरेर लादै गरेको मल गाडी सहित भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख इकवाल हवारीले बताउनुभयो ।

हवारीका अनुसार पाल्पाको सहकारी मार्फत प्रतिबोरा १ हजार ५० का दरले बिक्री गरेको बिल सहित मल ल्याएको पाइएपछि कानुन बिपरित बाहिर बिक्री भएको पाएर रामपुर नगरपालिकालाई मल फिर्ता पठाइएको हो । प्रहरीका अनुसार त्यसरी लगेको ४० बोरा युरिया मल वालिङ वडा प्रहरी कार्यालयले समातेको हो । समातेर रामपुर नगरपालिकालाई पठाएको मल शुक्रवार अबेर नगरपालिकाले भण्डारण गरेको छ ।
रामपुर नगरपालिकाले हरभरा कृषि सहकारीलाई २ सय बोरा मल उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेले बताउनुभयो । रामपुर नगरपालिकाले ढुवानी जोडेर १ रुपैया मात्र नाफा लिएर किसानलाई बेच्न सहकारीलाई मल दिएको थियो । मल बिक्री बितरण गर्ने सहकारीलाई यो बर्ष पनि मल दिएकोमा बाहिर बेचेको भेटिएको हो । विभिन्न सहकारीलाई पटक- पटक गरि पछिल्लो समय रामपुर नगरपालिकाले ११ सय बोरा मल बिक्रीलाई दिएको थियो ।
हराभरा कृषि सहकारी सस्थाका अध्यक्ष गितादेवी भट्टराई उपाध्ययले सहकारी सदस्यबाटै चलेको पसलबाट किसानलाई मल बिक्री गर्दै आएकोमा वालिङ कसरी पुग्यो भन्ने बिषयमा आफू अनबिज्ञ रहेको बताउनुभयो । किसानलाई दिन भनेर सम्झौता मार्फत सहकारी सस्थाका एक सदस्यले नै चलाएको पसललाई सहकारीले मल दिदै आएको छ ।