शैक्षिक उत्प्रेरणा सम्बन्धी २ दिने प्रशिक्षण रामपुरमा शुरु
पाल्पा ।
विद्यालय उत्प्रेरणा तथा शैक्षिक सिकाई सम्बन्धी प्रशिक्षण कार्यक्रम रामपुर नगरपालिका ४ मा शुरु भएको छ ।शिक्षकहरुमा शिक्षण सिकाईमा उप्रेरणा जगाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न रामपुर नगरपालिका वडा नम्बर ४ ले तालिमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले तालिम सयौं शिक्षक र हजारौं विद्यार्थी संग जोडिएको बताउदै सक्रिय पुर्वक तालिममा सहभागी हुन शिक्षकहरुलाई अनुरोध गर्नुभयो । उहाँले भौतिक बिकास भन्दा मानव बिकास दिगो हुने बताउदै भौतिक बिकास एकदिन भत्किएर बिग्रेर जान सक्ने तर मानव र मस्तिष्क बिकास नास नहुने बरु कार्यान्वयनले व्यक्ति र अरुलाई पनि सकारात्मक प्रतिफल दिने बताउनुभयो। विद्यार्थीको भावना अनुसार पढाउन सकेमात्र राम्रो शिक्षक कहलाउछ नगर प्रमुख थापाले भन्नुभयो- समयसापेक्ष प्रबिधिको अबलम्बन र बाहिरी ज्ञान समेत बुझाएर पढाउनु आवश्यक छ ।
शुक्रबार र शनिबार २ दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा शैक्षिक क्षेत्रमा दख्खल राख्नुहुने प्रशिक्षक दिपकनाथ घिमिरे, तिर्थराज बर्देवा र शिक्षा शाखा प्रमुख बिकल काफ्लेले शिक्षक र विद्यार्थीमा पढाइ सिकाईप्रति उत्प्रेरणा, शिक्षक, विद्यार्थी अभिभावकमा सकारात्मक दृष्टिकोण देखि कक्षा कोठामा सिकाई वातावरण, शैक्षिक सामाग्री प्रयोग तथा नियमित सिकाइबाट अब्बल नतिजा ल्याउन अपनाउनुपर्ने भुमिका र तयारीका बिषयमा सहजीकरण गर्नुहुनेछ ।
तालिममा रामपुर नगरपालिका वडा नम्बर ४ का विद्यालयका अध्यक्ष, अभिभावक संघ अध्यक्ष, प्रध्यानध्यापक र शिक्षकहरुको सहभागिता रहेको छ ।
रामपुर नगरपालिका ४ का वडाअध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष राना, पत्रकार सीता डोटेल, सीताराम माबिका प्रध्यानध्यापक हरि अधिकारी, कालिका माबिका प्रध्यानध्यापक मनिराज अधिकारीले तालिम विद्यार्थीको सिकाई संग जोडिएकाले दत्तचित्त भएर तालिम लिनुपर्नेमा जोड दिनुभयो।
वडा सदस्य मोहन सिं रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव सबिता रानाले गर्नुभएको हो ।