आबधिक योजना सम्बन्धी रामपुरमा ३ दिने गोष्ठी शुरु
पाल्पा ।
आवधिक योजना तर्जुमा सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी पाल्पाको रामपुर नगरपालिकामा शुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र लुम्बिनी प्रदेश सुशासन केन्द्र बाँकेको प्राविधिक सहयोगमा नगर विकास योजना तर्जुमा कार्यक्रम अन्तर्गत गोष्ठीको आयोजना गरेको हो ।
गोष्ठीमा सहभागीले नगरको आबधिक योजनालाई समेट्ने बिषयगत क्षेत्र तथा दिर्घकालिन योजना र दिगो योजनामा समेट्नुपर्ने बिषयमा छलफल गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले योजनाका बिषय, आवश्यकता र प्राथमिकिकरणका बिषयमा छलफल गर्नुभएको थियो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरमा “खर रहितको घर र ढल रहितको शहर” कार्यक्रम, युवा स्वरोजगार सहितका कार्यक्रम प्रभावकारी चलाउन सकेको बताउनुभयो । उहाँले नगरको समग्र विकासको लागि योजना माग, आवश्यकतामा प्राथमिकता दिएको बताउदै पूर्वाधार विकास संगै सामाजिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले योजनाबद्ध विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । समृद्धिका लागि नगर विकासको खाका यही योजना हुने हुँदा सबैको राय लिइएको बताउनुभयो ।
कार्यशालामा सहभागि समूह बिभाजन गरि विविध अबस्था, समस्या, चुनौती, अबसर र समस्या निर्मुल पार्न खेल्न सकिने भुमिका बिषयमा कार्यप्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा रामपुर नगरपालिकामा सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रम हालको अवस्था, समस्या ,चुनौति र समाधानको लागि सुझाव संकलन तथा आगामी दिनमा संचालन गर्नु पर्ने योजनाको विषयमा छलफल भएको थियो ।
कार्यशालाको सहजिकरण सेफन्न ईन्जिनियरिङ कन्सल्टेन्सिका कन्सल्टेन्ट किशोर रिजाल र शालिकराम पोखरेलले गर्नु भएको छ । कार्यशालामा आवधिक योजनाको आवश्यकता, योजना तर्जुमाका कानुनी आधार, मराजश्व संकलन लगाएतका विषयमा सहजिकरण गरिएको छ ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यशाला लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको संचालन रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो । तालिम ३ दिन सम्म अर्थात् आँउदो शनिबार सम्म चल्नेछ ।