राष्ट्रिय पुरुष बिच भलिबलको उपाधि आर्मीलाई
पाल्पा ।
पाल्पाको रानीमहलमा संचालित राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

गत बुधबार देखि चलेको पुरुष बिच भलिबलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । रानीमहलमा दोस्रो संस्करण भएपनि प्रथम पुरुष बिच प्रतियोगिता भएको हो । जहाँ आर्मीको तर्फबाट दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिस क्लबका इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराउन सफल भएको हो ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजना, राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग तथा जिल्ला भलिबल संघको सहकार्यमा चलेको प्रतियोगितामा आर्मी, पुलिस र शसस्त्र ३ वटै बिभागीय टिमको सहभागिता रहेको प्रतियोगितामा सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई हराउदै तृतीय भएको छ ।
उपाधि संगै आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ उपविजेता पुलिसले १ लाख रुपैयाँमा प्राप्त गरेको छ । ५० हजार प्राप्त एपिएफले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बनेको हो। कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
चैत २८ गतेबाट सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि ९ टोली सहभागी थिए ।

आर्मीका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुन सफल भए । यस संगै सुनारले १० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता समापनमा प्रदेश सभा सदस्य वीरबहादुर राना, फाउन्डेसन अध्यक्ष निरोज मास्के सहितले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगिता कै अबसरमा स्थानीय तह तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ र बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले रानीमहल क्षेत्रलाई वीच भलिबलको केन्द्र बनाउने घोषणा गर्नुभएको छ ।