अन्धकार मुक्ति सहकारीले गर्यो अग्निपिडित शेयरसदस्यलाई सहयोग
पाल्पा ।
बनको डढेलो गाउँमा सल्केर घरबार बिहिन पाल्पा रामपुर ९ का नागरिकलाई अन्धकार मुक्ति बचत तथा सहकारी सस्था रामपुरले घरमै पुगेर सहयोग हस्तान्तरण गरेको छ ।
सहकारी सस्थामा शेयर सदस्य रहेका परिवारलाई सहकारीको बिपद् राहत सहयोग कोषबाट रकम सहित खाद्यान्न सहयोग गरेको हो । गत बैशाख २६ गते नजिकैको वनमा लागेको आगो रामपुर ९ को मधुकोट गाउँमा छिरेपछि आगोको झिल्काले मधुकोट बासीको सपना पलभरमा नै खरानी पारेको थियो ।

अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थामा शेयर सदस्य रहेका उनीहरुलाई शेयर सदस्य सुरक्षा कार्यक्रम अन्तर्गत प्रति घरपरिवार नगद ५ हजार रुपैयाँ र प्रति घर परिवार २ बोरा चामल, दाल, नुन, तेल सहितका अत्यावश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेको सहकारी सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले जानकारी दिनुभयो ।
अध्यक्ष देवकोटा सहित पदाधिकारी, सदस्य एवं कर्मचारी सहितको मधुकोट पुगेको टोलीले बर्षौ भरको मेहनत एकपलमै खरानी भएर पिडित भएका घरपरिवारलाई राहत दिदै घाइते २ जनाको स्वस्थ्यलाभको कामना गरेका थिए । सहकारीका सचिव ओम प्रकाश बस्यालका अनुसार सहकारीका सदस्यलाई आपत बिपद् पर्दा सहयोग गर्ने सहकारीको कार्यक्रम अनुसार अग्निपिडितलाई केही न केही सहयोग हुन्छ भनेर राहत प्रदान गरिएको हो ।

सहकारीका व्यबस्थापक दिपेन्द्र प्रसाद पौडेलले घरमा आगोलागी हुँदा तत्काल खाने बस्ने समस्यामा रहेका परिवारलाई सहकारीले खाद्यान्न सहयोग गरेको बताउनुभयो ।
सहकारीले अग्निपिडितलाई झण्डै ५० हजार बराबरको सहयोग गरेको सहकारीका ऋण अधिकृत रामचन्द्र ढुङ्गानाले बताउनुभयो ।
अन्धकार मुक्ति बचत तथा क्रृण सहकारी संंस्थाका शेयर सदस्य लक्ष्मी साठीघरे, जानुमायाँ साठीघरे, मनकुमारी साठीघरे, नारायण कुमारी साठीघरे र निरमायाँ साठीघरेको घर आगोलागीबाट क्षति भएको थियो । घरमा रहेको कागजपत्र, नगद रकम, सुन गरगहना, मकै, धान, कोदो, सिमी, सहित कुखुरा बंगुर गाईबस्तु पनि जलेका थिए । ५ घरपरिवारमा रहने सगोल परिवार सहितका झण्डै ५० जना सदस्य यसबाट प्रभावित भएका छन् ।

गाईबस्तुलाई घरगोठको टिनले बारबेर गरेपनि केही परिवार नजिकको सिद्ध प्राविमा ओत लाग्दै आएका छन् । केही घरपरिवार छिमेकीकोमा बस्दै आएका छन् । जङगलको बिचमा रहेको मधुकोट बस्तीमा केही बर्ष अघि पनि जङगलको आगोले घरमा आगोलागी भएको थियो । यो बस्ती सुख्खा तथा हावाहुरी चलेको समय आगोलागीको जोखिममा रहेको वडा सदस्य तिल बहादुर गाहा मगरले बताउनुभयो ।

