भर्ना अबधिभर विद्यार्थी भर्ना शून्य भएपछि रामपुरको जनविकास समायोजन
पाल्पा ।
बैशाखको विद्यार्थी भर्ना अभियानको समयमा एकजना पनि विद्यार्थी भर्ना हुन नआएपछि पाल्पाको रामपुर नगरपालिका ३ मा रहेको जनविकास प्राथमिक विद्यालय समायोजनको तयारी भएको छ । कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ ।
सरकारले बैशाख महिनालाई भर्ना समयका रुपमा मनाउदै आएकोमा अघिल्लो १५ दिनलाई भर्ना समयावधी तोकेर अभियान चलाएको थियो । वैशाख अन्तिम सातासम्म पनि विद्यालयमा कुनै पनि विद्यार्थी भर्ना हुन नल्याईएपछि नगरपालिकाले यस्तो निर्णय लिएको हो । गत बैशाख २६ गतेसम्म १ जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको प्रध्यानध्यापक देव बहादुर ठाडाले बताउनुभयो ।
रामपुर नगरपालिकाको माथिल्लो पहाडी भेगमा पर्ने यस विद्यालयमा बिगत केही बर्ष यता विद्यार्थी न्यून थिए । लामटाङ गाउँका साना बच्चा बाहिरी स्कुल जान नसक्ने भएपछि चलाइएको थियो । विद्यार्थी भर्ना हुन आउने भन्दै अभिभावकले भन्ने गरेकोले बाहिर खबर गरिएको थिएन, अन्तिम समयमा कोही नआएपछि नगरपालिका शिक्षा शाखामा जानकारी दिइएको हो ठाडाले भन्नुभयो ।
बिगत केही बर्ष अघिदेखि जनविकास माबिमा मात्रै ५ /७ विद्यार्थी हुन्थे रामपुरका शिक्षासेवी देवराज ढकालले भन्नुभयो-निर्वाचन केन्द्र भएकोले पनि आएका संरचना संरक्षण गर्न विद्यालय चलाउने तर्फ लाग्यौ ।
शैक्षिकसत्र शुरु भएर महिना सकिन लाग्दा पनि विद्यार्थी भर्ना नभएको जानकारी आएपछि विद्यालय अनुगमन गरेर समायोजन गर्ने निर्णय लिएको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । नजिकको विद्यालय सीता माबिमा समायोजन गर्ने योजनामा रहेको थापाले बताउनुभयो ।
नगर प्रमुख थापा सहित उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, शिक्षा अधिकृत विकल काफ्ले लगायतको टोली विद्यालय पुगेको थियो ।
विद्यालयमा १ जना स्थायी दरबन्दी, १ जना करार दरबन्दी शिक्षक र १ कार्यालय सहयोगी छन् । बसाइँसराइका कारण गाउँ नै रित्तिन थालेपछि गाउँमा पढ्ने विद्यार्थी नभएका हुन् ।
गत शैक्षिकसत्रमा कक्षा १ मा चार जना, कक्षा २ मा दुई जना, कक्षा ३ मा चार जना, कक्षा ४ मा एक जना, कक्षा ५ मा दुई जना गरी जम्मा १३ जना विद्यार्थी भर्ना भएका थिए।
भर्ना भएका विद्यार्थी पनि नियमित नहुदा कक्षा आउनेहरु ५/७ जना मात्र हुने गरेका थिए ।
रामपुर नगरपालिकाभित्र कम्तीमा २० विद्यार्थी सङ्ख्या भएको विद्यालयमा न्यूनतम दुई शिक्षक दरबन्दी सहित व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताउनुभयो । विद्यालय पुग्यौं न्यौपानेले भन्नुभयो- बस्ती पातलो भइसकेको रहेछ, बसाइसराईका कारण विद्यार्थी न्यून हुदै जादा अहिले भर्ना हुनै नआएको पाइयो ।
विद्यार्थी नै नभएपछि यसै वडाको छिमेकी विद्यालय सीता माध्यमिक विद्यालयमा समायोजन गर्ने तयारी गर्न विद्यालयलाई आग्रह गरेको शिक्षा अधिकृत विकल काफ्लेले बताउनुभयो ।
भर्ना अबधिभर विद्यालयका शिक्षकहरु घर-घरमा पुगेको भएपनि भर्ना गर्न कोही नआएको हो । यसभेगका फाट र डाडा लगभग सबैको दुइपाई छ । सन्तान जन्मदर पनि पहिलेको तुलनामा कम भएकोले विद्यार्थी नआएको शिक्षक शर्मिला रेग्मीले बताउनुभयो । गतबर्ष १/२ मा भएका विद्यार्थी कोही रामपुर झरे कोही नजिकको मावि स्कुलमा गए रेग्मीले भन्नुभयो ।
झण्डै ४ रोपनी क्षेत्रफलमा स्कुल फैलिएको छ । ४ बर्ष अघि विद्यालय भवन परेर संरचना थपिएका छन् । ३ भवनमा ११ वटा कक्षाकोठा छन् ।
विसं २०२१ सालमा स्थापना भएको विद्यालय बसाईसराईकै कारण अर्को विद्यालयमा समायोजन गर्नुपर्ने भएको हो ।