प्रदुषण रोक्न बुटवल उपमहानगरले गर्यो सुखौरा खोला सरसफाई
बुटवल ।
बुटवल उपमहानगरपालिकाले जथाभावी फालिएको फोहोरका कारण वातावरण प्रदुषण तथा विभिन्न रोगव्याधी निम्तिन सक्ने भएकाले सरसफाइ अभियान सञ्चालन गरेको छ ।
उपमहानगरले नगरको वडा नं ४, ६, ७ र ८ मा फैलिएको सुखौरा खोलाबाट अभियान शुरु गरेको हो । खोलामा जथाभावी फाल्ने फोहोर सढेगलेका सामान बस्तुले गर्मी बढ्दै गर्दा प्रदुषण फैलिने जोखिम बढेकोले अभियानको रुपमा सरसफाई गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउनुभयो ।
वडा नं ४ आदर्शनगर क्षेत्रबाट शुरु गरिएको सरसफाइ खोलाक्षेत्रमा कम्तिमा ३ दिनसम्म गरिनेछ । अभियानमा बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महाशाखा प्रमुखहरु, कर्मचारीहरु, सरसफाइकर्मी, नगरप्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्दालगायतको सहभागिता रहेको छ ।
नगर प्रमुख पाण्डेयले बिहानको समयमा ३ दिनसम्म सुखौरा खोला सरसफाइ गर्ने, त्यसपछि बुटवलको बसपार्क, पुलहरु, भित्री सडक तथा गल्लीहरु र मुख्य राजमार्गमा सरसफाइ अभियान सञ्चालन गर्ने बताउनुभयो । जथाभावी फोहोरमैला नफाल्न अनुरोध गर्दै उहाँले मनपरी फोहोरमैला फाल्नेलाई जरिवाना गराउन निर्देशन समेत दिनुभएको छ ।
अभियान अन्तर्गत बिहीबार बिहान ७ बजे वडा नं ६ को सीमाक्षेत्रदेखि सरसफाइ कार्यक्रम हुने उपमहानगरले जनाएको छ ।