निस्दीमा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु
पाल्पा ।
पाल्पाको निस्दी गाउँपालिकामा अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
निस्दी भलिबल संघको आयोजना र निस्दी गाउँपालिकाको सहयोगमा चलेको प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।
निस्दी ५ गल्धाको खेल मैदानमा सन्चालन भएको प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले पछिल्लो समय खेलकुदको विकास भएको बताउनुभयो । खेलले युवालाई समेट्दै खेलाडीहरुलाई अनुशासित बनाउन खेलले महत्त्वपूर्ण भुमिका खेलेको उहाँको भनाई थियो ।
कार्यक्रममा निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले खेल मार्फत चिनारी मात्र नभई व्यवसायिक बन्न सहयोग पुगेको बताउनुभयो । निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले खेलकुदलाई पर्यटन बिकाससंग जोड्नु पर्ने बताउदै निस्दीको सकारात्मक पक्षलाई प्रचारप्रसार गर्नु सबैको जिम्मेवारी रहेकोमा जोड दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक निस्दी गाउँपालिका माथि रामपुर नगरपालिकाले जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा रामपुर नगरपालिकाले जित आफ्नो पक्षमा पार्दै राम्रो शुरुवाती गरेको छ ।
पाल्पा जिल्लाका विभिन्न ७ वटा पालिका र बाहिरी जिल्लाका ५ पालिका सहभागिता रहेको प्रतियोगिताका खेल आइतबार बिहान ८ बजे देखि सन्चालन हुने खेल संयोजक उमेश गाहाले जानकारी दिनुभएको छ ।
निस्दी गाउँपालिका वडा नम्बर-५ का वडाध्यक्ष दुर्ग बहादुर सोमैको अध्यक्षता भएको कार्यक्रमको सन्चालन होम राई मगरले गर्नुभएको हो ।