पाल्पाका ६० जेष्ठ नागरिकलाई कृत्रिम दाँत लगाइदिदै कालीगण्डकी फाउण्डेशन नेपाल
पाल्पा ।
आफ्नो दाँत झरेर बोल्न, हास्न र चपाउन नपाएका ६० जना जेष्ठ नागरिकलाई पाल्पाको एक सामाजिक संस्थाले कृत्रिम दात हालिदिएको छ ।
नेपालमा डेण्टल सेवा र दात राख्न समेत महंगो भएका बेला जिल्लामा क्रियाशिल कालीगण्डकी फाउण्डेशन नेपाल नामक सस्त्थले जिल्लाका विभिन्न पालिका र छिमेकी स्याङजा जिल्लाका नागरिकलाई दात राखेको हो । कालीगण्डकी फाउण्डेशन नेपालले संस्थाकै आर्थिक कोषबाट ट्राभल डेन्ट्रिस्टी नेपालसँगको प्राविधिक सहयोगमा निःशुल्क कृतिम दाँत शिविर सञ्चालन गरी लाभग्राहीलाई दात प्रदान गरेको छ ।

दात राख्नुपर्ने अबस्थाका सेवाग्राहीलाई विगत २ महिनाको छनौट र तयारी पछि ६ दिने शिविर सञ्चालन गरि कृत्रिम दात बनाएर हस्तान्तरण गरेको कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले जानकारी दिनुभयो । कृत्रिम दाँत राख्न पर्ने अबस्थाका लाभग्राहीलाई फागुनदेखि सुचना गरि सम्पर्कमा आएकाहरुको दाँतको अबस्था हेरेर पुरै दाँत झरेका वा केही दाँतको ठुटामात्र रहेकालाई सो दाँत झिकेर गिजा सुकाएपछि मात्र दाँत राखिएको हो । झण्डै २ महिनाको उपचार पश्चात गत बैशाख ३ देखि ८ गतेसम्म निःशुल्क कृतिम दाँत शिविर सञ्चालन गरी फाउण्डेशनले दाँत हस्तान्तरण गरेको हो ।

किराले खाएर वा विभिन्न समस्या आएर दाँत झरेका पाल्पाको रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा र बगनासकाली गाउँपालिका र स्याङ्जाको चापाकोट नगरपालिकाका नागरिकहरुलाई दाँत प्रदान गरेको हो ।

दाँत स्वास्थ्यको महत्वपुर्ण अङग हो, दाँत भएन भने खानपानमा समस्या हुने, अनुहार चाउरीपना देखिने, खानेकुरा चपाउन नसक्दा पाचन प्रक्रिया पुर्ण नहुँने र अवस्थ रहने भएकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै कृत्रिम दाँत दिने गरि शिविर सञ्चालन गरिएको कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकार सन्दिप रानाले बताउनुभयो । दाँतले हसिलो रसिलो देखिन्छ, उमेर ढल्किदै जादा सबैको उस्तै अबस्था हो, रहर भएको तर उपयुक्त समय र ठाउँ नपाउनुभएका नागरिकलाई गाउँमा नै सेवा दिएका हौं–रानाले भन्नुभयो ।
समन्वय संस्था ट्राभल डेन्टिस्ट्री नेपालका संयोजक डा. शंकर श्रेष्ठका अनुसार निकाल्न र राख्न मिल्ने खालको कुनै पनि दाँत नभएकाहरुको दाँत राखिएको हो । नयाँ दाँत राख्न डराउने, छाला, हड्डीसम्बन्धी समस्या भएका बिरामीलाई उपचार गरेर दाँतको महत्वबारे परामर्श लिएर कृत्रिम दाँत राख्न उत्प्रेरणा जागेको डाक्टर श्रेष्ठको भनाई छ । शिविरमा २१ जना दन्त रोग विशेषज्ञ डाक्टर सहित ३१ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको हो ।
सामान्यतया एक जनाको पूरै दाँत राखेको न्युनतम ३० हजार देखि ४० हजार सम्म रकम लाग्ने गरेको कृतिम दन्त चिकित्सक बताउँछन् । गाउँ-गाउँमा किराले खाएको, रोग लागेको दाँत झिक्ने भर्ने सेवा भएपनि जहाँकही सबै दात राख्ने अभियान छैन, कृत्रिम दन्त बिशेषज्ञ डा. बर्षा घिमिरेले भन्नुभयो–गैरसरकारी संस्थाले ठुुलो संख्यामा बुवामुवाको दाँत राख्नु आफैमा स्रह्रानिय कार्य हो ।

दाँत हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले पाचन प्रक्रिया, बोली र सुन्दरताको लागि दाँत महत्वपूर्ण अंग रहेको बताउदै दाँत नभएका नागरिकहरुको लागि शिविर वरदान सावित भएको उल्लेख गर्नुभयो । राखिएको दाँतले बानी नहुँदासम्म असहज होला तर यस कार्यले तपाईको दैनिकी संगै दिर्घजीवन जिउन मद्दत पुग्छ उहाँले भन्नुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले ज्येष्ठ नागरिकको लागि गरेको कार्य अति प्रभावकारी भएको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यमबहादुर सुनार, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सल्लाहाकार लेखनाथ पोखेरल, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका संयोजक अर्जुन श्रेष्ठ, रामपुर अस्पताल विकास समिति अध्यक्ष राम प्रसाद ढकाल, रामतुलसी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, पत्रकार सुशीला रेग्मी लगायतले बोल्दै उमेरले पाको बुवाआमाको मुखमा दाँत मात्र होइन मनमा हर्ष बढाएको बताउनुभयो । रामपुर क्षेत्रलाई कर्मथलो बनाएर फाउण्डेशनले गरेको कार्यले समाजमा सकारात्मक भुमिका खेलेको उहाँहरुको भनाई थियो ।
दन्तरोग विशेषज्ञ डाक्टर अनिता गुरुङले कृत्रिम दाँतको प्रयोग र राखेपछि ध्यान दिनुपर्ने कुरामा लाभग्राहीलाई जानकारी दिनुभयो । कार्यक्रममा दाँत राख्नुभएका ज्येष्ठ नागरिक फणिन्द्र खनाल, तुलसा खनाल र रुक्मागत भट्टराईले निःशुल्क दाँत राख्न पाउनु खुशीसँगै भगवान् प्रकट भएकोले दाँत उपलब्ध गराउने फाउण्डेशन र चिकित्सकको टिमलाई धन्यवाद दिनुभयो ।

कालीगण्डकी फाउण्डेशन नेपालका सचिव सीता डोटेलले २ महिना देखि सार्वजनिक सुचना गरि सम्पर्कमा आउनुभएका र कृत्रिम दाँत राख्न मिल्ने अबस्था भएकाको दाँत राखिएको बताउनुभयो । काठमाडौंबाट ठुलो संख्यामा डाक्टरको टिम ल्याई स्थानीय स्तरमा राखिएको निःशुल्क शिविरबाट धेरै नागरिक लाभान्वित हुनु नै सुखद् भएको डोटेलले बताउनुभयो ।
कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष पवित्रा पौडेल ढकालको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा भएको हो । शिविरमा सेवा दिने चिकित्सकहरुको टोलीलाई खादा प्रशंसा पत्र सहित कालीगण्डकी फाउण्डेशनले सम्मान गरेको थियो ।







